कञ्चनपुरका महिलाले मनाएनन् तिज, कालो सारी लगाएर गरे बिरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

भदौ १० २०८३, बिहीबार

कञ्चनपुरका महिलाले मनाएनन् तिज, कालो सारी लगाएर गरे बिरोध प्रदर्शन

किर्ते अनुसन्धानमा संलग्न सबै प्रहरीको डिएनए परीक्षण गर्न माग

पुष्कर भट्ट
कञ्चनपुर, २७ भदौ । कञ्चनपुरका महिलाहरुले आज हरितालिका तिज पर्व मनाएनन् । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्यारालाई कारबाहीको माग गर्दै विरोध स्वरुप तिज नमनाएका हुन् ।

निर्मलाको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारवाहीको माग गर्दै कञ्चनपुरका आमा समूहले हिन्दु महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसरमा कालो सारी लगाएर आन्दोलित भएका छन् ।

घटनाको छानविनका लागि सरकारले १५ दिनको म्याद सहित गठन गरेको उच्चस्तरीय छानविन समितिले तोकिएको मितिमा कुनै पनि निष्कर्ष निकाल्न नसकेपछि आमा समूह बुधबारबाट फेरि आन्दोलनमा उत्रिएका छन् ।

‘दबाबमूलक संघर्ष समिति’ को ब्यानरमा कंचनपुरका आमा समूहले बुधबार हरितालिका तीजको दिन कालो साडी लगाएर निर्मलाका वास्तविक हत्यारालाई कारवाहीको माग गर्दै धर्ना दिएका छन् ।

घटना भएको ४८ दिन पुगिसक्दा पनि सरकारले अपराधी पक्राउ गर्न नसकेको विरोधमा न्याय खोज्न बाध्य भएर तिजको दिनमा पनि कालो साडी लगाएर धर्नामा बसेको आमा समूहकी संयोजक हेलन श्रेष्ठले बताइन् ।

जबसम्म निर्मलाले न्याय पाउँदिनन् तबसम्म बिरोध प्रदर्शन जारी राख्ने संयोजक श्रेष्ठले बताइन् । यसअघि पनि आमा समूह लगातार सदरमुकाम महेन्द्रनगरमा निर्मलाका हत्यारा पक्राउको माग गर्दै आन्दोलन गर्दै आएको थियो ।

कालो सारी लगाएर विरोधमा उत्रिएकाहरुले घटनामा संलग्न भनी आरोपित व्यक्तिहरुलाई पक्राउ गर्न समेत माग गरेका छन् । घटनाको शुरुवात मै बलात्कार र हत्यामा संलग्न रहेको भनिएका र पछि सञ्चार माध्यमले नाम प्रकाशमा ल्याएका व्यक्तिहरु र किर्ते अनुसन्धानमा संलग्न सबै प्रहरीको डिएनए परीक्षण गर्न उनीहरुले माग गरेका छन् ।

ताजा समाचार