युएन पार्क : बृद्धबृद्धा र युवायुवतीको भेटघाटको स्थान बन्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

युएन पार्क : बृद्धबृद्धा र युवायुवतीको भेटघाटको स्थान बन्दै

सीता शर्मा
काठमाडौं, २७ भदौ । धुलैधुलो, फोहरमैला र सवारी साधनको प्रदूषित वातावरणले काठमाडौंवासीलाई दिक्क बनाउने गर्दछ । न स्वच्छ हावा, न स्वच्छ पानी न त खुल्लापन । यी सबै काठमाडौं उपत्यकाका विशेषता भइसकेका छन् । तर ललितपुर बागमती किनारमा रहेको हरियाली र शान्तपुर्ण युएनपार्क भने धेरैको दिन बिताउने आनन्दित ठाउँ भएको छ ।

काठमाडौंले दिएका अनेक समस्यालाई भुलेर रमाउने ठाउँ भएको छ युएन पार्क । बागमती किनारमा रहेको यो पार्क विहान, दिउँसो र साँझ कुनै पनि समय खाली हुँदैन । हरीयाली बोट विरुवा, शान्त वातावण, र रंगिचङी फूल फुलेको दृश्यले सबैको मन आनन्दित बनाउने गर्दछ । बिहानमा योग गर्ने, व्यायाम गर्ने देखि दिउँसोको समयमा बृद्धबृद्धा तथा युवायुवतीहरुको भेटघाटको स्थान भएको छ ।

शंखमुल पुलदेखि टेकु दोभानसम्मको १ हजार ५ सय ७६ रोपनी क्षेत्रफलमा अहिले यु एन पार्क बन्ने काम भइरहेको छ । युनाइटेड नेसनको ५० औं वार्षिक उत्सवको अवसर पारेर वातावरण संरक्षणका लागि सबै सदस्य राष्ट्रले पार्क बनाउने सहमती अनुरुप नेपालमा विकास समिति ऐन २०१३ को दफा ३ बमोजिम एक उच्च स्तरीय संयुक्त राष्ट्र संघ पार्क विकास समिति गठन गरि यो पार्क निर्माण गर्न लागिएको हो ।

युएन पार्कमा पुगेपछि एकान्त ठाउँमा पुगेको महसुश हुने गर्दछ । बस्न र भेटघाट गर्न मात्र होइन तस्वीर खिच्न र म्युजिक भिडियो बनाउनका लागि पनि युएन पार्क सबैको रोजाइ बन्दै गएको छ ।

बागमती नदी वरीपरिको सार्वजनिक जग्गाको संरक्षण गर्ने, भु-क्षय नियन्त्रण गर्ने, बागमती नदीलाई फोहोर मैलाबाट जोगाउने, पार्क भित्र वातावरण मैत्री कार्यक्रमहरु संचालन गरी पार्कलाई वातावरण संरक्षणको नमुनाको रुपमा विकास गर्ने उद्देश्य सहित सुरु भएको पार्क निर्माण कार्य २२ वर्ष वितिसक्दा पनि पुरा हुन सकेको छैन ।

सरकारी अनुदान र दातृ संस्थाको सहयोगमा पार्क निमार्णका लागि प्रारम्भिक लागत ३४ करोडको अनुमान गरिएको थियो । विभिन्न विकास समिति खारेज गर्ने सरकारको निर्णय संगै यस पार्क निर्माण समिति पनि खारेज भएर केहि महिनादेखि निर्माणको काम रोकिएको छ ।

तर अब भने युएन पार्क निर्माणका लागि अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समितीले जिम्मा पाएको र नयाँ योजनाका साथ काम अघि बढाउने तयारी गरिएको छ ।

खुल्ला र फराकिलो स्थानको कमि भएको काठमाडाैंमा पक्कै पनि यो पार्कले केहि राहत प्रदान गरेको छ । पार्क भित्रको हरियालीपुर्ण वृक्षारोपण, घुमफिर गर्ने तथा साइकल चढ्ने क्षेत्र, शान्त वातावरणले पनि धेरैलाई आकर्षित पार्दछ ।

कहि कतै हरिया बोट बिरुवा देख्न नपाइने काठमाडौंमा निर्माणाधिन युएन पार्कलाई व्यवस्थित र आर्कषित बनाउन सकिएमा काठमाडौं वासीको पहिलो रोजाई बन्नेमा दुइमत छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);