सैन्य अभ्यास गर्ने सम्बन्धी सम्झौता भएको छैन : प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सैन्य अभ्यास गर्ने सम्बन्धी सम्झौता भएको छैन : प्रधानमन्त्री

काठमाडौं, १९ भदौ । सरकारले बिमस्टेक सम्मेलनमा सदस्य राष्ट्रबीच कुनै पनि किसिमको सैन्य अभ्यास गर्ने सम्बन्धी सम्झौता नभएको स्पष्ट पारेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले बिमस्टेक सम्मेलनमा नेपालले सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गर्ने सम्झौता गरेको भन्दै त्यसबारे जवाफ माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो सम्झौता नभएको स्पष्ट पारेका हुन् ।

कुनै पनि आतंकवादी गतिविधि हुन नदिने भन्ने सन्दर्भमा सदस्य राष्ट्रबीच भएको सहमतिलाई सैन्य अभ्यासको रुपमा नबुझ्न उनले आग्रह गरे । सम्पूर्ण विकास र कनेक्टिभीटीको कुरा भएको भन्दै उनले भने “नेपाल मिलिटरी प्याक्टमा विश्वास पनि गर्दैन । मिलिटरी प्याक्ट भित्र पस्दा पनि पस्दैन । कुनै सरोकारको विषय होइन ।”

सहयोग आदानप्रधान विगतमा पनि हुने गरेको भन्दै उनले भने “सैन्य अभ्यास, कहाँ बाट आयो सैन्य अभ्यास ? मन्त्री भईसकेका माननिय जीहरु पनि कुरो गरेको देख्दा पो छक्क लाग्छ । हाम्रा मिलिटरी कलेजमा विभिन्न देशका आउँछन् अध्ययन गर्छन । डिग्री लिन्छन् जान्छन् । ”

सैनिक अभ्यास भारत, चीन तथा अमेरिकासंग पनि हुने गरेको भन्दै उनले भने “संयुक्त सैनिक अभ्यास र बिमस्टेकलाई कुनै मिलिटरी प्याक्टमा बदल्न खोजेको देखिन्छ र घोषणापत्रमा ?”

बिमस्टेकलाई सार्कको विकल्पको रुपमा नबुझ्न आग्रह

प्रधानमन्त्री ओलीले सार्कको विकल्पको रुपमा बिमस्टेक होइन भनेर यसअघि पनि आफुले सदनलाई जानकारी गराएको स्पमरण गर्दै प्रधानमन्त्री ओलीले सार्क राष्ट्रबीच केही असमझदारी भएपनि त्यसैमा अल्झिन नहुने बताए ।

सार्कबाट नेपालले बान्छित उपलब्धि लिन नसकेको भएपनि सार्कको विस्थापित गर्न बिमस्टेक नआएको उनले स्पष्ट पारे । सार्क भएपछि बिमस्टेक हुनु हँुदैन भन्ने मान्यता पनि सही नहुने उनले बताए ।

सन्् १९९७ मा स्थापना भएको बिमस्टेकले बल्ल आकार लिने काम गरेको उनले स्पष्ट पारे । उनले सार्कको विकल्पमा बिमस्टेक आएको भनेर नबुझ्न सांसदहरुलाई आग्रह गरे । नेपालको परराष्ट्र नीति स्वतन्त्रत, सन्तुलित र असंलग्न रहेको भन्दै उनले सुविचारित, सुव्यवस्थित र पञ्चशिलका सिद्धान्तमा आधारित रहेकाले त्यसमा आशंका नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रहित विपरित कुनै कदम नचाल्ने प्रतिवद्धता जनाए । उनले भने “कुनै पनि प्रश्न उठ्न दिईने छैन । देशको हित विपरित कुनै कदम चालिने छैन । कुनै व्यवहार गरिने छैन । कुनै नीति लिईने छैन र कुनै पनि देशको हितविरुद्ध हुने कुनै काम हुँदैन ।”

सार्कको अध्यक्ष राष्ट्र नेपाल भएपनि सम्मेलन गर्ने अधिकार निहित नभएको भन्दै उनले सार्कलाई गतिशिल बनाउने पक्षमा आफुहरु रहेको बताए ।सम्मेलनका क्रममा क्षमता अनुसार सदस्य राष्ट्रले गरेको सुरक्षा सर्तकता स्वभाविक भएकाले यस बिषयलाई कुनै देशको सेना कब्जा गर्न आएको ढंगले नबुझ्न र अनावश्यक नउचाल्न पनि उनले आग्रह गरे।

सांसदहरु दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, मिनेन्द्र रिजाल, राम बहादुर विष्ट, अमरेश कुमार सिंह, भरतकुमार शाह, राजेन्द्र कुमार केसी, मिन बहादुर विश्वकर्मा, दिलेन्द्र प्रसाद बडु, सञ्जयकुमार गौतम लगायतले बिमस्टेक सम्मेलनले जारी गरेको घोषणापत्रमा संयुक्त सैन्य अभ्यास गरिने भनिएको बारेमा प्रश्न उठाएका थिए ।

सार्कको प्रतिस्थापक बिमस्टेक भएको, सम्मेलनका क्रममा नेपाल आएका भारतीय सुरक्षाकर्मी लगायत विषयमा प्रधानमन्त्रीसंग स्पष्टता माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);