बिमल जैरु
डडेल्धुरा, १६ भदौ । प्रदेश ७ मा गौरा पर्व शुरु भएसंगै ग्रामिण क्षेत्रमा चहलपहल बढेको छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेको र मनोकामना पुरा भएको किम्बदन्ति अनुसार गौरापर्व मनाउने प्रचलन रहिआएको हो ।
प्रदेशको प्रसिद्ध साँस्कृतिक पर्व गौरा पर्वको दोस्रो दिन शनिवार विरुडा धोइएको छ । गौरा पर्वको पहिलो दिन शुक्रवार बिरुडा पञ्चमीका दिन बेलुका गौरा माताको आह्वान गर्ने, फाग गाएर ब्रतालु महिलाहरुले केराउ, जौ, मस्याङ, मास र गुराउँसको दानालाई भिजाएको विरुडा दोस्रो दिन नजिकको शुद्ध जलाशयमा गएर बिधिवत रुपमा धोई पखाली घरघरमा राखिन्छ । अनि काँचो तथा भुटेर एकआपसमा तथा आफन्तलाई बाँडेर खाने प्रचलन छ ।
विरुडा भाद्र शुक्ल अष्टमीका दिन बिधिवत रुपमा पूजाअर्चना सम्पन्न भई मनाइने गौरा पर्वको दोस्रो दिन पूजामा अक्षता स्वरुप चढाईने र प्रसादको रुपमा खाने बिरुडा (पञ्चदलहन गेडागुडी) धोएर देउघरमा लगिन्छ ।
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको किंबदन्ती अनुसार गौरापर्वको रुपमा मनाउने प्रचलन रहिआएको छ ।
पाँच वनस्पति कुश, काँस, सामा, तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा राखेर देवीको प्रतिमा बनाई भित्र्याई नियमित निराहार पूजा गरी गौरादेवीलाई भाद्र शुक्ल अष्टमीका दिन गाउँकै मन्दिरमा भित्र्याएर बिसर्जन गर्ने परम्परा छ ।
श्रद्धाभक्तिपूर्वक दुवो र गौराको पूजा गरे पारिवारिक सुख, शान्ति, सौभाग्य, सन्तान प्राप्त हुने, कार्यसिद्धि हुने धार्मिक विश्वास छ । यस दिनमा सुदूरपश्चिमबासीहरु फाग चैत चाँचरी देउडा गीत गाउने, नृत्य गरी रमाइलो समेत गर्ने भएकाले शहर बजार भन्दा गाउँगाउँमा चहलपहल बढ्ने गर्दछ ।





