काठमाडौं, २८ साउन । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले राष्ट्र निर्माणको अभियानमा युवाहरुलाई परिचालन गर्न आवश्यक नीति तथा कार्यक्रम ल्याउने घोषणा गरेका छन् ।
युवा तथा खेलकुद मन्त्री विश्वकर्माले युवाहरुलाई परिचालन नगरी मुलुकलाई समृद्ध बनाउन नसकिने बताए । उनले मुलुकलाई समृद्ध बनाउने गरी युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने विषयमा सरकार गम्भिर रहेको बताए ।
सोमबार काठमाडौंमा आयोजित ‘प्रथम राष्ट्रिय युवा अधिकार महाभेला’ लाई सम्बोधन गर्दै उनले सरकार मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढाउन केन्द्रित रहेको बताए ।
मन्त्री विश्वकर्माले सरकार सुशासन, विकास र समृद्धिको माध्यमबाट जनतामा खुशीयाली ल्याउने अभियानमा केन्द्रित भएको बताए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजित सो कार्यक्रममा बोल्दै उनले युवाहरुलाई आफ्नो हक, अधिकार सुनिश्चित गराउने अभियानमा जुट्न पनि आह्वान गरे ।