विराटनगर, ५ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जुम्लामा डा केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे ।
रक्षामन्त्री पोखरेलले वर्तमान सरकार जनताको स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत समस्या समाधान गर्न कटिबद्ध रहेको बताए । उनले पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तेस्तै ल्याउनुपर्ने माग अनुचित भएको बताउँदै संसद्मा प्रतिपक्षद्वारा विधेयक टेबुल गर्न नदिनु अधिनायकवाद हो भने ।
पोखरेलले स्वास्थ्य विधेयक संसद्मा छलफल भई यसमा भएका समस्या समाधान हुनुपर्नेमा जोड दिँदै जननिर्वाचित संसद्मा विधेयकका बुँदामा आवश्यक संशोधन प्रस्ताव राखी छलफल प्रकियाबाट विधेयकमा रहेका विवाद टुंग्याउनुपर्ने विचार व्यक्त गरे ।