पोखरा, ३ साउन । प्रधानमन्त्री केपीशर्मा ओलीले केही राजनीतिक दलहरु आफ्नो दुनो सोझ्याउन डा. गोविन्द केसीको जीवनसँग खेलवाड गरीरहेको बताएका छन् । पोखरा विश्वविद्यालयको १९ औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको बताए ।
डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर भएको जानकारी पाएपछि सरकारले चिकित्सकको टोली पठाउँदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज काम भएको उनले बताए । एउटा जमातले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएको भन्दै प्रधानमन्त्री ओलीले भने, “गोविन्द केसी आफ्नो खुशीमा चलिरहनु भएको छ कि पराधिन हुनुहुन्छ ?बुझ्न सकिएन । ”
प्रधानमन्त्री ओलीले केही राजनीतिक दलले गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो राजनीतिलाई जीवित राख्न खोजे त्यो स्थायी नुहने दाबी गरे । “केही–केही मानिसहरु गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन्” प्रधानमन्त्री ओलीले भने । चिकित्सकले हड्ताल गर्नु आफ्नो पेशागत मर्यादा विपरीत भएको प्रधानमन्त्रीको भनाइ छ ।
‘अन्य पेशाकर्मीलाई आज हड्ताल छ, काम गर्दिन भन्दा त्यसले ठुलो घाटा नगर्ला तर, डाक्टरले बिरामी जाँच्दिन भन्दा एकैदिनमा कयौंको ज्यान जान सक्छ’ प्रधानमन्त्री ओलीले भने ‘बिरामीको उपचार गर्ने पेशा रोज्ने अनि उपचारै गर्दिन भन्नु नैतिक हिनता हो ।’
काँग्रेसको आन्दोलन प्रति संकेत गदै प्रधानमन्त्री ओलीले कसैलाई मन नपरेको पार्टीले बुहमत ल्यायाे, सरकार बनायो भन्दैमा आन्दोलन गर्नुको अर्थ नभएको बताए । ‘कसैलाई मन नपरेको पार्टीले बहुमत ल्यायो होला, कसैलाई मन नपरेको मान्छे प्रधानमन्त्री भयो होला । यो जनताको निणर्य हो’ प्रधानमन्त्री ओलीले भने,–’त्यसकारण यस्ता कुरामा आन्दोलन गरेर केही अर्थ छैन ।’