कुुनै समय क्रोएशिया फिफा बरियतामा १२२ औँ स्थानमा थियो भने नेपाल पनि १२४ औँ स्थानमा
किसन भण्डारी
काठमाडौं, ३० असार । कुनै समय विश्व बरियतामा १ सय २२ औं स्थानमा रहेको क्रोएसिया उत्कृष्ट प्रदर्शन गर्दै रुस विश्वकपको फाइनलमा पुगेको छ । उसले आफूलाई विश्वविजेताको बलियो दाबेदारको रुपमा प्रस्तुत गरेको छ ।
सन् १९७२ मा फिफाको सदस्य बनेको नेपालले भने अहिलेसम्म विश्वकपको छनोट खेलसमेत खेल्न पाएको छैन । तर, पनि नेपालमा फुटबलप्रेमीहरुको कमी भने छैन । हरेक विश्वकपमा नेपालीहरु विभन्न देशको जर्सी लगाएर फुटबलको मजा लिइरहेका हुन्छन् । विश्वकप नेपालको लागि भने सपना मात्र भएको छ ।
नेपालमा फुटबल खेल्न थालिएको झण्डै एक शताब्दी पुग्न लागेको छ । राणाशासनकै सयमा सन् १९२१ मा नेपालमा फुटबल भित्रिएको थियो । त्यस्तै सन् १९५१ मा एन्फाको स्थापना सँगै नेपालमा पनि व्यवसायीक फुटबलको सुरुवात भएको पाइन्छ ।
अन्य खेलको तुलनामा राज्यले पनि फुटबलमा बढी नै लगानी गरिरहेको छ । तर, फुटबलमा अपेक्षित उपलब्धी भने हात पर्न सकेको छैन । सन् १९९१ मा स्वतन्त्र भएको करिब ४० लाख मात्र जनसंख्या भएको क्रोएशीयाले विश्वकपमा आफ्नो बलियो दाबी प्रस्तुत गरिरहँदा नेपालको लागि भने त्यो केबल सपना मात्र भएको छ ।
यस पटकको विश्वकपमा करिब ३ लाख ३० हजार जनसंख्या भएको आइसल्याण्ड र नेपालको तुलनामा १ करिब तिहाई क्षेत्रफल र जनसंख्या भएको पानामाले पनि विश्वकपमा सहभागिता जनाए ।
सन् २०१६ को युरोकपमा क्वाटर फाइनलसम्म पुगेको आइस्ल्याण्डले विश्वकपको समुहचरणमा अर्जेन्टिना जस्तो टोलीलाई बराबरीमा रोक्दै सनसनी मच्चायो । कुनै समय फिफा बरियताको १ सय ५० औं स्थानमा रहेको पानामा पनि अहिले ५५ आैँ स्थानमा छ ।
यी राष्ट्रहरुले विश्वकपको यात्रा तय गर्दा कुनै बेला फिफा बरियतामा सँगै रहेको नेपाल भने विश्वकपको सपना मात्र देखिरहेको छ । फुटबलका जानकारहरु नेपालको विश्वकप यात्रा सपना भित्रको पनि सपना भएको टिप्पणी गर्छन ।
कुुनै समय क्रोएशिया फिफा बरियतामा १२२ औँ स्थानमा थियो भने नेपाल पनि १२४ औँ स्थानमा पुगेको थियो । अहिले क्रोएशिया रुस विश्वकपको फाइनलमा पुगेको छ । तर, नेपाल भने बरियतामा १ सय ६१ औं स्थानमा पुगेको छ ।
अब यो स्थानबाट नउक्सिने संज्ञा पनि ४ वर्ष देखि सञ्चालनमा नआएको ’ए’ डिभिजन लिग र लथालिगं भौतिक संरचानाले प्रष्टाएको छ ।
अहिलेसम्म नेपाललाई चित्त बुझाउने ठाउँ भएको साफ गेम हो । सहभागिता जनाएको खेलमध्ये चित्त बुझ्दो नतिजा आएका दुई बाहेक आएको छैन । यसपाली पनि एएफसी छनौटमा विना कुनै जित नेपाल फर्कियो ।
साँच्चै फुटबललाई उकास्ने हो भने सरकार, फुटबलका पदाधिकारी, खेलाडी प्राथमिक स्तर देखि नै दत्तचित्त भएर लाग्नुपर्छ नत्र विश्वकप नेपालीका लागि सपनामा मात्रै सिमीत नहोला भन्न सकिन्न ।