काठमाडौं, १० असार । माछापुच्छ्रे गाउँपालिकाले माछापुच्छ्रे हिमालको आरोहण खुला गर्न प्रस्ताव गर्ने भएको छ । आइतबार हुने गाउँसभामा माछापुच्छ्रे आरोहण खुला गर्न प्रस्ताव गरिने गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।
पोखराको फेवातालमा छाया देखिने माछापुच्छ्रे हिमाललाई आरोहणका लागि खुला गर्दा गाउँपालिका र समग्र देशकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अध्यक्ष गुरुङको दाबी छ । ‘पोखरालाई नै सिघारेको देखिने मुख्य आकर्षक हिमाल माछापुच्छ्रे चुम्ने रहर कुन पर्यटकको नहोला,’ उनले भने, ‘यहाँ आउन साहस गर्ने पर्यटकको ओइरो लाग्नेछ र समग्र पर्यटन प्रवद्र्धनमा नै सहयोग पुग्नेछ । ’
अध्यक्ष गुरुङले गाउँपालिकाका बासिन्दाको भावनाअनुरूप गाउँसभामा उक्त प्रस्ताव पेस गर्न लागिएको बताए । गाउँपालिकाले मात्रै निर्णय गरेर नहुने भएकाले प्रदेश सरकार र संघीय सरकारसमक्ष प्रस्ताव गरिएको उनले बताए ।
आरोहण खुला गर्ने बहस पुरानै
माछापुच्छ्रे हिमाल अहिलेसम्म कसैले चढेका छैनन् । त्यसैले यसलाई कुमारी हिमाल पनि भन्ने गरिन्छ । यो हिमाल चढ्न कुनै वेला खुला भए पनि यसको भौगोलिक बनावटले र विभिन्न किंवदन्तीलाई आधार मान्ने हो भने दैविक शक्तिले गर्दा यहाँ कोही चढ्न नसकेका हुन् । विक्रम सम्वत् ०२० मा सरकारले नै माछापुच्छ्रे हिमाल आरोहणमा रोक लगाएको हो ।
त्यसपछि पनि माछापुच्छ्रे आरोहणका लागि विभिन्न ढंगले लबिङ नभएका होइनन् । माधव घिमिरे पर्यटन मन्त्रालयको तत्कालीन सचिव रहेका वेला माछापुच्छ्रे आरोहण खुला गरेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गर्ने प्रस्ताव नै गरेका थिए । ‘तत्कालीन पर्यटन सचिव घिमिरेले आरोहण गरेर शिलन्यास गर्ने प्रस्ताव गर्दा मुअब्जाको विवाद निस्क्यो, कतिपयले आरोहणको कुरा जोडिएकाले भाँडिएको भन्ने पनि गर्छन्, आरोहण नगर्ने निर्णय भएपछि शिलन्यास त होइन, मुआब्जा प्रक्रिया थप अगाडि बढ्यो,’ पर्यटनविज्ञ समूहका सदस्य बासु त्रिपाठीले भने । उनले माछापुच्छ्रेमा दैवी शक्ति रहेको बताए । माछापुच्छ्रेमा आरोहण खुला गर्न नहुने सुझाब उनले गाउँपालिकालाई दिएका छन् ।
माछापुच्छेको पूर्वी बेस क्याम्पसम्म पर्यटक लैजान सके आकर्षण झनै बढ्ने उनको विश्लेषण छ । त्यसका लागि सिक्लेससम्म २ लेन सडक पूर्वाधार बनाइनुपर्नेमा उनले जोड दिए । यो क्षेत्र ट्रेकिङका लागि नै उपयुक्त रहेकाले त्यतैतर्फ जोड दिन माछापुच्छ्रे गाउँपालिकालाई उनले सुझाब दिए ।
यसअघि सन् १९५० मा ब्रिटिस टोलीले माछापुच्छ्रे आरोहण गर्न खोजे पनि सफल हुन सकेको थिएन । त्यसपछि अन्य टोलीले पनि आरोहणको असफल प्रयास गरेका थिए । दैवी शक्तिकै कारण यस्तो भएको किंवदन्ती स्थानीयमाझ छ ।
६ हजार ९ सय ९८ मिटर उचाइ
पोखराबाट झन्डै २५ किलोमिटर (हवाइ) दूरीमा रहेको माछापुच्छ्रे ६ हजार ९ सय ९८ मिटको उचाइमा छ । माछाको पुच्छरजस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो । यसलाई अंग्रेजीमा ‘फिस टेल’ भनिन्छ ।
यो हिमाललाई मानिसले भगवान् शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन् । त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । माछापुच्छ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किँदै गएको छ । पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रका रूप प्रदान गर्छ । यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिङ गन्तव्य हो र अन्नपूर्णको दक्षिणतर्फबाट आधार शिविर र अन्य प्राकृतिक सौन्दर्यले मनमोहक हुन्छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।




