काठमाडौं, ५ असार । वरिष्ठ न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटाप्रति श्रद्धाञ्जली अर्पणका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा शुभेच्छुकहरुको भीड लागेको छ ।
पित्तथैलीको क्यान्सरका कारण ६४ वर्षको उमेरमा सोमबार साँझ निधन भएका डाक्टर देवकोटाप्रति श्रद्धाञ्जली अर्पणका लागि आज विहानैदेखि अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी, राजनीतिकर्मी, सर्वसाधारण लगायत शुभेच्छुकको भीड लागेको हो । श्रद्धाञ्जलीका लागि अस्पताल पुगेकाहरुमध्ये कतिपय सर्वसाधारण भावविह्ल भएका छन् ।
डाक्टर देवकोटाले आफ्नो ३४ बर्षिय करिअरमा १० लाखभन्दा बढी विरामीको उपचार गरेका थिए । भने करिब २५ हजार जनाको शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरुले सोमबार बेलुका नै अस्पताल पुगेर देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । डाक्टर देवकोटाको अपरान्ह दाहसंस्कार गरिने परिवारका सदस्यले बताएका छन् ।