एजेन्सी, २५ जेठ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडुसँगको फोनवार्तापछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विवादमा तानिएका छन् । ट्रयुडुसँगको फोनवार्तामा राष्ट्रपति ट्रम्पले क्यानडाले सन् १८१२ को युद्धमा ह्वाइट हाउस जलाउन खोजेको भन्ने प्रश्न गरेपछि उनको चौतर्फी आलोचना भएको हो । यसै विषयलाई लिएर क्यानडाका नागरिकले ट्रम्पविरुद्ध आक्रामक प्रतिक्रिया दिएका छन् ।
ट्रम्पको यस्तो बयानले अमेरिकालाई फेरि लज्जाको विषय बनाइदिएको पनि धेरैको भनाइ छ । सो युद्धको समयमा बेलायती सेनाले वास्तवमै राष्ट्रपति निवासमा आगो लगाएका थिए ।
तत्कालिन समयमा क्यानडा कुनै देश नभएर बेलायतको एउटा कोलोनीको रुपमा मात्र थियो । त्यसैले कुनै आधार बिना नै ट्रम्पले अर्को लापरबाहीपूर्ण टिप्पणी गरेको भन्दै उहाँको विरोध भएको हो ।
ट्रम्प प्रशासनले हालै मात्र क्यानडा अमेरिकाको सुरक्षाका निम्ति खतरा भएको कारण देखाउँदै क्यानडेली सामग्रीमा शुल्क वृद्धि गर्ने निर्णय सुनाएको थियो । यसैबारे निराशाजनक प्रतिक्रिया दिँदै प्रधानमन्त्री जस्टिनले क्यानडा कुनैपनि आधारमा अमेरिकाका लागि खतरा हुन नसक्ने बयान दिएका थिए् ।
यसैको जवाफमा ट्रम्पले जस्टिनसँगको फोनवार्तामा ‘ह्वाइट हाउस जलाउने तिमीहरु नै होइनौ र ?’ भन्ने विवादित प्रश्न गरेको बताइएको छ । बीबीसीका अनुसार अझै पनि ट्रम्पले सो बयान ख्यालख्यालमा गरेको वा वास्तवमै भनेको भन्नेबारे प्रष्ट नभएको बताइएको छ ।
अमेरिकासँग नजिकको सम्बन्ध रहेपनि प्रशासनले गत हप्ता मेक्सिको, क्यानडा र युरोपियन युनियन माथि शुल्क वृद्धि गर्ने घोषणा गरेको थियो ।




