छेत्रनाथ देवकोटा
बाँके, १८ जेठ । सन्तान इश्वरको बरदान, हरेक आमाबुबाको सपना हुन्छ, आफ्नो सन्तान राम्रो र ठुलो मान्छे बनुन्, र बुढेसकालको सहारा । तर बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० नयाँ बस्तीमा एक दम्पतीको त्यो सपना ठ्याक्कै उल्टो छ । ती दम्पतीले बुढेसकालमा सन्तानबाट सहारा पाउनु त कता हो कता, उल्टै जवान २ छोराको सहारा बन्नु परेको छ ।
यो कारुणिक दृश्य हो, बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० नयाँ बस्ती थपुवामा रहेको कमलकुमार राई परिवारकोे । सावीत्री राईको कोखबाट २ छोरी र २ छोरा जन्मिए । तर दुई छोरा नै बौद्धिक अपाङ्ग भएपछि राई दम्पतीको सपना चक्नाचुर भएको छ । राई दम्पतीको जेठो छोरा रवी राई २१ बर्ष र कान्छो छोरा सरोज राई १२ बर्षका पुगे । जवान छोराहरु बौद्धिक अपाङ्ग भएपछि राई दम्पती समस्यामा परेका छन् ।
दुई छोराको हेरचाहमा रात दिन बिताउनुपरेपछि उनीहरु काममा निस्कन समेत पाएका छैनन् । कतै निस्कुप-यो भने छोराहरुलाई दाम्लोले बाँधेर राख्ने गरेका छन् । जेठो छोरालाई बाँधेर राख्न थालेको १८ बर्ष बित्यो तर उनको चेत अझै खुलेको छैन । राई दम्पती भन्छन्– छोराहरुलाई दाम्लोले बाँधेरे राख्नु रहर हैन बाध्यता हो ।
कान्छो छोरा सरोजको पनि अबस्था त्यस्तै छ । उनी पनि त्यसरी नै दाम्लोले बाँधिन्छन । तर रवीको तुलनामा सरोजले धेरै बदमासी नगर्ने भएकोले कहिलेकाही दाम्लोबाट मुक्ति पाउँछन् । सामान्य परिबारका यि दम्पतीले छोराहरुको उपचारका लागि धामीझाँक्रीदेखि अस्पताल सम्म पु-याए ।
तर छोराहरुको व्यवहारमा सुधार आएन । उपचारका लागि पैसाको जोहो गर्न नसकेपछि चिकित्सकले पछि ठिक हुन्छ भन्दै फर्काउने गरेका छन् । लाउलाउ खाउखाउ भन्ने उमेरमा छोराहरुको यस्तो अवस्था देख्खा कुन आमाबुबाको आँखा नरसाउला र ?
राई दम्पतीको कुनै आम्दानीको श्रोत छैन । बौद्धिक अपाङ्ग २ छोराहरुको मासिक २ हजारका दरले आउने भत्ताले नै उनीहरुले गुजारा चलाउँदै आएका छन् । सामान्य उपचारको लागि पनि उच्च तहका व्यक्ति राज्यको कोषबाट विदेशका सुविधा सम्पन्न अस्पतालमा पुग्छन् ।
तर राई दम्पतीको छोराहरुले स्वदेशकै अस्पतालमा पनि उपचार पाउन नसकेर छटपटिमा छन् । दुई छोरीको विवाह भइसकेकाले ती छोराहरुलाई पछि कसले हेरचाह गर्छ भन्ने चिन्ता उत्तिकै छ राई दम्पतीलाई । अपाङ्गता भएका व्यक्तिका लागि भन्दै च्याउसरी संघसस्था नभएका पनि हैनन् । तर ती संघस्थाको नजर राई परिवारको घरका परेको छैन ।