मोदी आज आउँदै, यी हुन् मुख्य एजेन्डा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

मोदी आज आउँदै, यी हुन् मुख्य एजेन्डा

narendra modi

काठमाडौं, २८ बैशाख । १. अरुण तेस्रो शिलान्यास
प्रधानमन्त्रीद्वय ओली र मोदीले शुक्रबार काठमाडौंमा स्विच थिचेर ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना शिलान्यास गर्दै छन् । कार्यक्रम अपराह्न द्वारिकाज होटेलमा आयोजना गरिनेछ । संखुवासभा जिल्लामा निर्माणको तयारीमा रहेको उक्त आयोजनालाई लगानी बोर्डको कार्यालयले सहजीकरण गरिरहेको छ । आयोजना शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । द्वारिकाज होटेलमा स्विच थिचेपछि अरुण तेस्रोको ड्याम साइटमा पर्दा खुल्नेछ ।

२. रक्सौल–रक्सौल रेलमार्ग समझदारी
रक्सौल–काठमाडौं रेलमार्ग निर्माण आयोजना अगाडि बढाउन २५ चैतमा नेपाल र भारतबीच सहमति भइसकेको छ । सहमतिलाई मूर्तरूप दिन समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्ने आवश्यकता छ । रेल विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार छोटो भ्रमण भएकाले सम्भावना न्यून छ । तर, चाहेको खण्डमा समझदारीपत्रमा हस्ताक्षर हुन सक्ने बताए ।

दुई देशका जनताबीचको सम्बन्धलाई अभिवृद्धि गर्ने र आर्थिक वृद्धि तथा विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका वेला दुई प्रधानमन्त्रीबीच नयाँ विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको हो । उक्त रेलमार्ग भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने सहमति छ । यसबाहेक भारतले नेपालका विभिन्न ५ वटा स्थान जयनगर–जनकपुर–कुर्था, जोगबनी–विराटनगर, न्यु जलपाइगुडी–काँकडभिट्टा, नौतनवा–भैरहवा र नेपालगन्ज रोडदेखि नेपालगन्जसम्म लाई रेल यातायातले जोड्ने कार्यक्रमलाई पनि प्रभावकारी रूपमा अघि बढाउनेबारे छलफल हुन सक्नेछ ।

३. निर्माणाधीन सडक आयोजना
दुई देशबीच समझदारी र सम्झौता भई कार्यान्वयनमा आएका सडक आयोजनालाई अझै प्रभावकारी बनाउन जोड दिइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले जानकारी दिए । दुई प्रधानमन्त्रीबीच हुलाकी राजमार्ग निर्माणबारे छलफल हुन सक्नेछ । छलफलमा आयोजनालाई अझ बढी प्रभावकारी बनाएर समयमै सम्पन्न गर्न केन्द्रित गरिनेछ । त्यस्तै, भारतीय लाइन अफ क्रेडिट एलओसी अन्तर्गत १७ वटा सडक सुधार गर्ने कार्यक्रमलाई समयमै सम्पन्न गर्न जोड दिने तयारी छ ।

४. पञ्चेश्वर एजेन्डामा नपर्ने निश्चित
बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे मोदीको भ्रमण अवधिमा छलफल हुने सम्भावना लगभग सकिएको छ । उक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डिपिआरमा दुई देशका अधिकारीबीच असहमति छ । तर, दुवै देशका प्रधानमन्त्रीले चाहे डिपिआर स्वीकृत गर्ने कार्यमा प्रगति हुन सक्ने पञ्चेश्वर विकास प्राधिकरणका सिइओ महेन्द्रबहादुर गुरुङले बताए । खासगरी पानी र मुनाफा बाँडफाँडलगायत विषयमा दुई देशबीच टुंगो लाग्न नसक्दा डिपिआरले अन्तिम रूप पाएको छैन ।

मोदी र ओलीको ट्विट–संवाद मोदीका तीन ट्विट, तीन सन्देश

१ .प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा म वैशाख २८ र २९ गते नेपाल भ्रमण गर्दै छु । यो भ्रमणले भारतको नेपालसँग मित्रवत सम्बन्धलाई दिँदै आएको उच्चतम प्राथमिकता प्रतिविम्बित गर्दछ । द्विपक्षीय साझेदारी थप मजबुत बनाउने दिशामा प्रधानमन्त्री ओलीसँग म विस्तृत छलफल गर्नेछु ।

२. भ्रमणमा म काठमाडौंबाहेक जनकपुर र मुक्तिनाथ जानेछु । यी तीर्थयात्रा र पर्यटनका दुई गतिशील केन्द्र हुन् । दुई देशलाई बलियो सांस्कृतिक सम्बन्धमा बाँध्ने प्रतीक पनि हुन् ।

३. लोकतन्त्रको लाभलाई थप बलियो बनाउँदै र आर्थिक वृद्धिदर हासिल गर्दै नेपाल नयाँ युगमा प्रवेश गरिरहेका वेला नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को दृष्टिकोण कार्यान्वयन गर्ने दृढ साझेदारका रूपमा भारत रहनेछ ।
मोदीलाई प्रधानमन्त्री ओलीको जवाफ

नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीको स्वागतमा म प्रतीक्षारत छु । यस भ्रमणबाट दुई देशबीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ हुने विश्वाससहित उहाँको ‘सबका साथ–सबका विकास’को भिजन नेपालको विकास यात्रामा सहयोगी हुने अपेक्षा गरेको छु ।

श्री मोदी, नाकाबन्दी अपराध थियो युरोपेली राजदूतको ट्विट

भारतीय नाकाबन्दीका वेला नेपालस्थित युरोपियन युनियनकी राजदूत रहेकी रिन्छे टेरिन्कले ‘यी तस्बिर बिर्सन सकिँदैन’ भन्दै भारतीय नाकाबन्दीका वेलाको तस्बिर ट्विट गरेकी छिन् । उनले ह्यासट्याग रिट्विट गरेकी छिन्, ब्लकेड वाज क्राइम मिस्टर मोदी श्री मोदी, नाकाबन्दी अपराध थियो । उनी अहिले बंगलादेशका लागि इयूकी राजदूत छिन् । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);