काठमाडौं, १३ चैत । स्थानीय तह निर्वाचनको ११ महिना पछि निर्वाचन समिक्षा थालेको नेपाली कांग्रेस यतिवेला आन्तरिक किचलोमा फसेको छ । निर्वाचनको हारलाई लिएर नेताहरु घोचपेच र दाउपेचमा केन्द्रित देखिएकाले तत्कालै उक्त किचलो हल हुने सम्भावना न्यून देखिएको छ ।
संघीय संसदमा एकतिहाई भन्दा कम सिटमा सिमित भएको नेपाली कांग्रेस यतिवेला ‘किन कमजोर भइयो’ भनेर आत्मसमिक्षा बैठकमा छ । समिक्षा बैठकबाट निस्कदा हारको वस्तुगत कारण त्यसबाट बाहिर निस्कने योजना निर्माण गर्नु उसको घोषित र प्राथमिक एजेण्डा हो । तर, एजेण्डा त्यही भएपनि कांग्रेस केन्द्रीय समिति नेतृत्वलाई खुइल्याउने र नेतृत्व विरुद्ध लाग्नेलाई खुइल्याउनेमा सिमित देखिएको छ ।
कतिपय नेताहरुले सभापति शेरबहादुर देउवालाई नेतृत्वको हैसियतमा निर्वाचनका समयमा लिएका निर्णयको औचित्य पुष्टी गर्न ‘यक्ष’ प्रश्न सोधिरहेका छन् । तर, देउवा पक्षका नेताहरु पनि त्यसको उचित सम्बोधनको सट्टा प्रश्न सोध्नेका कमजोरी खोज्ने र नेतृत्वको बचाउ गर्नेमा केन्द्रीत देखिएका छन् ।
यसले कांग्रेसभित्र निर्वाचनको समिक्षा गर्दै कमीकमजोरी पहिल्याएर अवको बाटो रोज्ने भन्दा पनि गुटलाई थप मलजल गर्ने प्रवित्ति हाबी भएको पुष्टि गरेको छ । जसका कारण बैठक यतिकै सकिने सम्भावना पनि बढेको छ ।
प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा कांग्रेस एक भएमात्र त्यसले सकारात्मक परिणम दिन र जनतामा विश्वास आर्जन गर्नस सक्छ भन्ने कुरा नेताहरुले बाहिर भाष्णमा भन्ने गरेपनि बैठकमा त्यस्तो संयोजनकारी भूमिकामा कुनै पनि नेता देखिएका छैनन् ।
एक भएर निर्वाचनमा गएको कांग्रेस बैठकमा भएको प्रस्तुतिकै गतिमा विभाजित भए त्यसले कम्युनिष्ट सरकारलाई प्रतिपक्षबिहीन सत्ता हाक्ने मौका दिनसक्छ । जुन कांग्रेसले भन्ने गरेको सत्तापक्ष प्रतिपक्षसहितका संसदीय व्यवस्थामाथि अर्को प्रश्न बन्न सक्छ ।
निर्वाचनको समिक्षामा बसेको बैठकमा समेत १४औं महाधिवेशनमा कसरी दोहोरिने भन्ने नेतृत्वको योजना र त्यसअघि नै कसरी कमजोर बनाउने भन्ने असन्तुष्ट पक्षको योजनाले कांग्रेसलाई प्रभावहिन राजनीतिक दलका पमा स्थापित गरिदिनसक्छ । यसतर्फ आफूलाई लोकतन्त्रका हिमायती भन्नेहरुले घोत्लिएर सोच्ने समय अब धेरै बाँकी छैन ।




