कैलाली, २७ फागुन । कथित बोक्सी आरोपमा निर्घात पिटिएकी कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीको उपचारको सम्पूर्ण खर्च सरकारले बेहोर्ने भएको छ ।
सेती अञ्चल अस्पतालमा उपचाररत चौधरीलाई भेटेर प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उपचार खर्चको कुनै चिन्ता नलिन आग्रह गरेका छन् । सामाजिक तथा विकास मन्त्री दीर्घ सोडारीसहित अस्पताल पुगेका मुख्यमन्त्री भट्टले चौधरीेलाई न्याय दिलाइ छाड्ने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक तथा विकास मन्त्री सोडरीले घट्नाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेर कार्बाहीको प्रक्रियामा जाने स्पष्ट पारे ।
सेती अञ्चल अस्पतालका प्रमुख डाक्टर सजन केसीले चौधरीको आँखामा चोट देखिएकोले चेकजाँचका लागि गेटा आँखा अस्पतालमा पठाउने तयारी भईरहेको बताए । यद्यपि, चौधरीको स्वास्थ सुधारोन्मुख रहेको उनले जानकारी दिए ।
चौधरीलाई कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेको छ । घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।




