यमनको अल–जौफमा साउदी नेतृत्वको हवाई आक्रमणः १४ को मृत्यु, १० घाइते | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १२ २०८३, बिहीबार

यमनको अल–जौफमा साउदी नेतृत्वको हवाई आक्रमणः १४ को मृत्यु, १० घाइते

यमनको उत्तरी प्रान्त अल–जौफमा बुधवार भएको भीषण हवाई आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनकाअनुसार उक्त आक्रमणले प्रान्तीय राजधानी अल–हाजमस्थित एक सार्वजनिक बजार र नजिकैको इन्धन केन्द्रलाई लक्षित गरेको थियो । हवाई आक्रमणका कारण उक्त क्षेत्रमा ठूलो मानवीय क्षति भएको छ । शुरुमा १२ जनाको मृत्यु भएको बताइए पनि पछि मृतकको संख्या १४ पुगेको र सो संख्या अझ बढ्न सक्ने स्थानीय अधिकारीहरूले जनाएका छन् । पीडितहरूमा महिला र बालबालिकाहरू समेत रहेको रिपोर्टमा उल्लेख छ । आक्रमणका कारण बजार क्षेत्र र इन्धन केन्द्रमा ठूलो भौतिक संरचनामा समेत क्षति पुगेको छ । यद्यपि, हुथी सञ्चारमाध्यमले सार्वजनिक गरेको यो विवरणको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ । यस घटनाका सम्बन्धमा साउदी अरब नेतृत्वको गठबन्धनले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यो पछिल्लो आक्रमण यस्तो समयमा भएको छ जब हुथी विद्रोही र साउदी समर्थित यमनी सरकारी फौजबीच सीमापार आक्रमणका घटनाहरू तिब्र बनेका छन् । सन् २०१४ को अन्त्यमा हुथी विद्रोहीले राजधानी साना र उत्तरी यमनका अधिकांश भाग कब्जा गरेपछि यो मुलुक लामो समयदेखि द्वन्द्वको चपेटामा छ । सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले यमनी सरकारको समर्थनमा सैन्य हस्तक्षेप शुरु गरेयता यमनमा हजारौंको ज्यान गइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् । निरन्तरको हवाई आक्रमण र भूमिगत लडाइँले यमनलाई विश्वकै सबैभन्दा खराब मानवीय संकटको भूमरीमा धकेलेको छ ।

Leave a Reply

ताजा समाचार