झापामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध वृहत खोप अभियान शुरु, ३० वर्ष माथिकालाई लगाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

झापामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध वृहत खोप अभियान शुरु, ३० वर्ष माथिकालाई लगाउन आग्रह

काठमाडौँ ।

झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिने अभियान सोमवारदेखि शुरु भएको छ । रोल…
स्वास्थ्य चौकी काँकरभिट्टामा कोशी प्रदेशका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले खोप लगाएर अभियानको शुरुवात गर्नुभएको हो । उक्त अभियान असोज १५ गतेसम्म झापाका १५ वटै पालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले बताउनु भयो । उहाँले यो खोप पूर्णतया सुरक्षित रहेको भन्दै ३० बर्ष भन्दा माथि उमेरका सबैलाई खोप लगाउन आग्रह गर्नुभयो ।

खोप अभियान मेचीनगर नगरपालिकाबाट शुरु भएको हो । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले तोकिएका उमेर समूह ३० बर्ष भन्दा माथिका सबैले खोप लगाउन आग्रह गर्नुभयो । अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको कार्यालयले जनाएको छ । जिल्लाका १ सय ३१ वडामा ९ सय खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन भएको उहाँको भनाइ छ ।
अभियानमा करिव ५ सय स्वास्थ्यकर्मी, ६ सय ११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालित भएका छन् । देशभरमै झापामा जेई सङ्क्रमण उच्च रहेकाले यहाँबाटै खोप अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ । सङ्क्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक रहेका छन् । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताउनु भयो । उहाँले गर्भवती तथा तत्काल खोप लगाउन नमिल्ने अवस्थाका बिरामीबाहेक लक्षित समूहका सबै नागरिकलाई खोप लगाउन आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार