देश/समाज

त्रिपुरेश्वर बस आगलागी घटनाः न्यायिक छानबिनको माग गर्दै नेकपाद्वारा संसदमा सरकारको आलोचना

काठमाडौँ । 

काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विवादपछि बसमा आगो लगाउँदा मृत्यु भएका चालक अर्जुन लामाको घटनालाई लिएर प्रतिनिधि सभामा सरकारको आलोचना भएको छ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले मंगलवारको संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको हो । सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीचको विवाद सामान्य नभएको जिकिर गर्नुभयो । उहाँले घटना हुनुअघि नै चालकले आफूमाथि दबाब बढेको भन्दै आफ्नो ज्यान जोखिममा रहेको चेतावनी दिएको भएपनि राज्य संयन्त्र रमिते बनेर बसेको आरोप लगाउनु भयो । उहाँले केही महिनाअघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको मृत्युको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाउनु भयो । सांसद दुलालले सडकमा रहेका लाखौं श्रमिक र चालकहरूको अवस्था दयनीय रहेको उल्लेख गर्दै राज्यले उनीहरूको सुरक्षा र सामाजिक सुरक्षा कोषको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी हालको झन्झटिलो र अव्यावहारिक कानुनी प्रावधान सच्याउनुपर्ने माग गर्नुभयो । उहाँले सरकारले अविलम्ब उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गर्नुभयो ।

Related Post
Share

This website uses cookies.