काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका एकदिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुशी ल्याउन सकेकोमा गर्व लागेको बताउनुभएको छ ।
एसीसी प्रिमियर कपको उपाधि जितेर आईतवार राति स्वदेश फर्किनुभएका उहाँले टोलीको सफलताका पछाडि खेलाडी मात्र नभई समर्थक र पर्दापछाडिका सबैको योगदान रहेको बताउनुभएको हो । शनिवार संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्नुका साथै दोस्रोपटक एशिया कपमा स्थान पक्का गरेको थियो । यसअघि नेपाल सन् २०२३ मा पहिलोपटक एशिया कपमा छनोट भएको थियो । स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै कप्तान लामिछानेले पछिल्लो सफलतालाई नेपाली क्रिकेट सही दिशामा अघि बढिरहेको बताउनु भयो ।
ओमानविरुद्धको सेमिफाइनलमा नेपाल १४७ रनमै अलआउट भएपछि पनि टोलीले आत्मविश्वास नगुमाएको लामिछानेले बताउनु भयो । उहाँले उक्त खेलमा आफ्नो आधारभुत क्षमतामा केन्द्रित हुँदै अन्तिम खेलजसरी खेल्ने रणनीति बनाएको बताउनु भयो । नेपालले ओमानलाई केवल ६० रनमा अलआउट गर्दै सेमिफाइनलमा शानदार जित निकालेको थियो । लामिछानेकाअनुसार खेलाडीहरूले ‘आफ्नो देशका लागि वा जीवनकै अन्तिम खेल खेलेजसरी’ मैदानमा उत्रिने र प्रत्येक बलमा शतप्रतिशत प्रयास गर्ने योजना बनाएका थिए । बलिङपछि ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले टोलीलाई सम्हालेर अघि बढाएको प्रदर्शन पनि उहाँले प्रशंसनीय रहेको बताउनु भयो ।
फाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१३ रन बनाएको थियो । कप्तान लामिछानेले फाइनलका लागि विकेट राम्रो भएकाले टस जितेर ब्याटिङ रोज्नु सही निर्णय भएको बताउनु भयो । आसिफ शेखको शतकसहित नेपाली ब्याटरहरूले राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै उहाँले बलिङतर्फ पनि टोलीले शुरुवाती विकेट निकाल्न सके खेलमा फर्किन सकिने विश्वास रहेको बताउनु भयो । यूएईका राहुल चोपडाले राम्रो ब्याटिङ गरेपछि केही समय दबाब सिर्जना भएपनि खेल अन्तिम ओभरसम्म पुग्न सक्ने आँकलन टोलीले गरेको लामिछानेको भनाइ छ ।
कप्तान बनेको पहिलो सिरिजमै नेपाललाई उपाधि दिलाउँदै आफू म्यान अफ द टूर्नामेन्ट बन्न सफल भएपनि लामिछानेले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित ठूलो भएको बताउनु भयो । उहाँले दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, गुल्शन झा, ललित राजवंशी, करण केसी, आसिफ शेख, रोहित पौडेललगायत सबै खेलाडीको योगदान उत्तिकै महत्वपूर्ण रहेको बताउनु भयो । लामिछानेले प्रशिक्षक, सहायक प्रशिक्षक, ट्रेनर, फिजियो, टेक्निकल एनालिस्ट, व्यवस्थापक तथा अन्य सहयोगी कर्मचारीलाई पनि टोलीको सफलताको ‘पर्दापछाडिका हिरो’का रूपमा स्मरण गर्नुभयो । प्रिमियर कपको उपाधिपछि नेपाली टोलीको ध्यान अब आगामी प्रतियोगितातर्फ केन्द्रित हुने लामिछानेले बताउनु भयो । केही दिन आराम गरेपछि एशियन गेम्स र त्यसपछि एसिया कपका लागि तयारी शुरु गरिने उहाँले जानकारी दिनु्भयो । नेपालले पछिल्लो सफलतासँगै एशिया कपमा दोस्रोपटक स्थान बनाएको छ । सन् २०२३ मा पहिलोपटक एशिया कप खेलेको नेपालले यसपटक पनि एशियाली क्रिकेटका ठूला टोलीसँग प्रतिष्पर्धा गर्ने अवसर पाएको छ ।




