अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामबीच सोमबार टेलिफोन वार्ता भएको छ । सो क्रममा उनीहरूबीच उत्तर सागरको तेल, व्यापार, सैन्य गठबन्धन र हर्मुज जलसन्धिको सुरक्षा (विस्फोटक पदार्थ हटाउने कार्य) लगायतका महत्वपूर्ण विषयमा छलफल भएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उक्त संवादको जानकारी दिँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आगामी कार्यदिशाबारे कुराकानी भएको बताउनु भयो । उनीहरूबीच निकट भविष्यमा आपसी चासोका विषयमा भेटवार्ता गर्ने सहमति समेत भएको छ ।
नवनियुक्त प्रधानमन्त्रीलाई शुभकामना दिँदै ट्रम्पले लेख्नुभएको छ, ‘प्रधानमन्त्रीको अगाडि ठूलो जिम्मेवारी छ, तर उहाँले त्यो सफलतापूर्वक सम्पन्न गर्न सक्नुहुनेछ र यसमा संयुक्त राज्य अमेरिकाको पूर्ण सहयोग रहनेछ ।’ उहाँले उक्त संवाद निकै फलदायी र सकारात्मक रहेको समेत उल्लेख गर्नुभएको छ । बेलायतको लेबर पार्टीका नेता बर्नह्यामले सोमवार मात्र प्रधानमन्त्रीका रूपमा औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको हो ।




