मध्यस्थकर्ताहरूबाट प्राप्त प्रश्ताव र कुटनीतिक संवादप्रति इरान सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

मध्यस्थकर्ताहरूबाट प्राप्त प्रश्ताव र कुटनीतिक संवादप्रति इरान सकारात्मक

इरान र संयुक्त राज्य अमेरिकाबीच जारी तनाव र जवाफी सैन्य कारबाहीका बीच इरानले मध्यस्थकर्ताहरूबाट वार्ताका लागि विभिन्न प्रश्तावहरू प्राप्त भएको जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा कुटनीतिक माध्यमहरू अझै सक्रिय रहेको जानकारी दिएका हुन् । अमेरिका र इरानबीचको वार्तालाई पुनः शुरु गर्न र १० दिने युद्धविरामका लागि कतारले नयाँ प्रश्ताव राखेको भन्ने समाचारका सम्बन्धमा सोधिएको प्रश्नमा प्रवक्ता बाघेईले प्रश्तावहरू प्राप्त भएको पुष्टि गर्नुभयो । यद्यपि, उहाँले ती प्रश्तावहरूको विस्तृत विवरण भने सार्वजनिक गरेनन् । बाघेईले सैन्य प्रतिकारका साथसाथै इरानको कुटनीतिक संयन्त्र पनि उत्तिकै सक्रिय रहेकोमा जोड दिनुभयो । सो क्रममा प्रवक्ता बाघेईले नागरिक पूर्वाधार, पुल तथा स्वास्थ्य केन्द्रहरूमा अमेरिकाले गरेको पछिल्लो आक्रमणको निन्दा गर्नुभयो ।

उहाँले ती आक्रमणहरूले मानिसको बाँच्न पाउने अधिकार, सुरक्षा र मानवीय मर्यादाको उल्लंघन गरेको आरोप लगाउनु भयो । गत जुन १८ मा वासिङ्टनसँग भएको शान्ति समझदारी पत्रका विषयमा बोल्दै बाघेईले उक्त सम्झौताको बुँदाहरू पूर्ण रूपमा स्पष्ट रहेको र अमेरिकाले आफ्ना प्रतिवद्धताहरू उल्लंघन गर्ने कुनैपनि बहाना नरहेको बताउनु भयो । उहाँले इरानले प्रतिवद्धताको बदला प्रतिवद्धताको सिद्धान्त पालना गर्दै आएको भएपनि अमेरिकाले बारम्बार सम्झौता उल्लंघन गरेपछि इरान आफ्ना दायित्वहरूबाट पछि हटेको स्पष्ट पार्नुभयो ।हर्मुज जलसन्धिका सम्बन्धमा प्रवक्ता बाघेईले उक्त जलमार्गमा इरानको सार्वभौमसत्ता कायम रहने र आफ्नो हितविरुद्ध हुने कुनैपनि गतिविधिलाई रोक्न इरान दृढ रहेको बताउनु भयो ।पछिल्लो एक सातादेखि अमेरिकाले व्यावसायिक जहाजहरूको सुरक्षामा खतरा रहेको भन्दै इरानको दक्षिणी प्रान्तहरूमा श्रृंखलावद्ध हवाई आक्रमण गर्दै आएको छ । यसको प्रतिशोधस्वरूप इरानले पनि कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार इलाकाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण तीव्र पारेको छ ।

Leave a Reply