इरानले कतारमा रोक्का रहेको आफ्नो सम्पती फुकुवा गर्ने विषयमा कतारी अधिकारीहरूसँग वार्ता गर्ने भएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आयोजना गरिएको साप्ताहिक पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको हो । प्रवक्ता बाघेईकाअनुसार इरानी विज्ञहरूको एक टोलीले कतारी अधिकारीहरूसँग तेहरान र वासिङ्टनबीच हालै सम्पन्न शान्ति समझदारी पत्रका प्रावधानहरू कार्यान्वयन गर्ने सम्बन्धमा छलफल गर्नेछ । दोहामा हुने यस वार्ता विशेष गरी समझदारी पत्रको बुँदा नम्बर ११ मा केन्द्रित रहनेछ, जसमा इरानको रोक्का सम्पत्ति फुकुवा गर्ने उल्लेख छ । उहाँले इरानको मुख्य उद्देश्य आफ्नो कोषमा पहुँच प्राप्त गर्नु र त्यसलाई देशको आवश्यकता अनुसार प्रयोग गर्नु रहेको स्पष्ट पार्नुभयो ।
यसैबीच, प्रवक्ता बाघेईले आगामी दिनमा अमेरिकी अधिकारीहरूसँग कुनैपनि तहको भेटघाटको समय तालिका तय नभएको जानकारी दिनुभयो । अमेरिका र इरानबीचको उच्चस्तरीय वार्ताको निरन्तरता समझदारीका मुख्य प्रावधानहरूको कार्यान्वयनमा निर्भर रहने उहाँले बताउनु भयो । यसमा सबै मोर्चामा युद्धको अन्त्य, अमेरिकी नौसैनिक नाकाबन्दीको अन्त्य, हर्मुज जलडमरूमध्य पुनः सञ्चालन, इरानी कच्चा तेल निर्यातका लागि अमेरिकी छुट, र रोक्का सम्पतीको पूर्ण फुकुवा जस्ता विषयहरू समावेश छन् ।
हर्मुज जलडमरूमध्यको विषयमा बोल्दै बाघेईले त्यहाँ वाह्य हस्तक्षेपको आवश्यकता नरहेको र तेहरान उक्त क्षेत्रको व्यवस्थापनमा आफ्नो अधिकार सुरक्षित राख्न दृढ रहेको बताउनु भयो ।
जुन १८ मा इरान र अमेरिकाबीच क्षेत्रीय युद्ध अन्त्य गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही आधारमा पाकिस्तान र कतारको मध्यस्थतामा जुन २२ देखि स्विट्जरल्याण्डमा दुई देशबीच प्राविधिक वार्ताहरू शुरु भएका थिए ।




