दक्षिण कोरियाली संसद्द्वारा हन सेओङ–सुक नयाँ प्रधानमन्त्रीमा अनुमोदित | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८३, बिहीबार

दक्षिण कोरियाली संसद्द्वारा हन सेओङ–सुक नयाँ प्रधानमन्त्रीमा अनुमोदित

दक्षिण कोरियाको राष्ट्रिय सभा (नेसनल एसेम्बली) ले प्रधानमन्त्रीका रूपमा हन सेओङ–सुकको नियुक्तिलाई बहुमतले अनुमोदन गरेको छ । संसदमा भएको मतदानमा उहाँको पक्षमा १६६ मत परेको थियो भने एक मत बदर भएको थियो । कुल १६७ सांसद मतदान प्रक्रियामा सहभागी भएका थिए । सभामुख चो जोङ–सिकले मतदानको नतिजा घोषणा गर्दै भन्नुभयो,‘कुल १६७ मतमध्ये पक्षमा १६६ र १ मत बदर भएकाले हन सेओङ–सुकलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रश्ताव पारित भएको घोषणा गर्दछु ।’
प्रमुख प्रतिपक्षी दल ‘पिपल पावर पार्टी’ ले मतदान प्रक्रिया बहिष्कार गरेको थियो । यद्यपि, सत्तारुढ ‘डेमोक्रेटिक पार्टी’ र अन्य सरकार पक्षधर दलका सांसदहरूले भने हनको नियुक्तिको पक्षमा मतदान गरेका थिए ।
राष्ट्रपति ली जे म्युङले गत जुन ७ मा हनलाई प्रधानमन्त्री पदका लागि मनोनयन गर्नुभएको थियो । सन् १९६७ मा ग्योन्गी प्रान्तमा जन्मिनुभएकी हनले सुकम्युङ महिला विश्वविद्यालयबाट अङ्ग्रेजी भाषा र साहित्यमा स्नातक गर्नुभएको छ । दक्षिण कोरियाली इन्टरनेट क्षेत्रको प्रतिष्ठित कम्पनी ‘नेभर’को मुख्य कार्यकारी अधिकृत (सीईओ) का रूपमा समेत अनुभव सँगालेकी उनी सन् २०२५ मा साना तथा मझौला उद्योग र स्टार्टअप मन्त्री नियुक्त हुनुभएको थियो ।
औपचारिक रूपमा कार्यभार सम्हालेसँगै हन सेओङ–सुक दक्षिण कोरियाको इतिहासमा हन म्योङ–सुकपछिको दोस्रो महिला प्रधानमन्त्री बन्नुहुनेछ ।

Leave a Reply