स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट

स्पेनमा यस वर्षको पहिलो ग्रीष्मकालीन तातो लहर (हिटवेभ) लगत्तै मुलुकका विभिन्न भू–भागमा भीषण डढेलो फैलिएको छ । डढेलोका कारण जनजीवन प्रभावित हुनुका साथै ठूलो मात्रामा वन क्षेत्रमा क्षति पुगेको छ । हालसम्मको विवरणअनुसार उत्तरी प्रान्त हुस्काको ला लिटेरामा मात्रै करिव ४ हजार हेक्टर जमिन डढेलोको चपेटामा परेको छ । यसका साथै उत्तर–पश्चिमी क्षेत्र एल बिएर्जो र जारागोजा प्रान्तका विभिन्न स्थानहरूमा पनि डढेलो सक्रिय रहेको छ । कतिपय स्थानमा चट्याङका कारण डढेलो शुरु भएको पुष्टि भएको छ । डढेलोको जोखिम बढेपछि हुस्काबाट करिव २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

यस्तै, बार्सिलोना नजिकैको टियाना, सान्त फोस्ट डे क्याम्पसेन्टेलेस, मार्टोरेलेस र सान्ता मारिया डे मार्टोरेलेस क्षेत्रमा डढेलो र धुवाँका कारण करिव १६ हजार बासिन्दालाई घरभित्रै रहन निर्देशन दिइएको छ । बार्सिलोना नजिकैको क्षेत्रमा जानाजानी डढेलो लगाएको आशंकामा क्याटलन प्रहरी (मोजोस डिक्वेग्रा) ले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । यस वर्षको पहिलो तातो लहरका कारण स्पेनका कतिपय क्षेत्रमा जुन महिनाकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । बिल्बाओमा ४३ डिग्री सेल्सियस र दक्षिणी प्रान्त जाएनमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो । यो सप्ताहबाट पुनः गर्मी बढ्ने मौसमविद्हरूको पूर्वानुमान छ । आगामी साताको शुरुवातमा राजधानी म्याड्रिडको तापक्रम ३९ डिग्री सेल्सियससम्म पुग्न सक्ने बताइएको छ ।

Leave a Reply

ताजा समाचार