नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराउनुभएको छ ।
आईतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिनुभएको हो । सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको टिप्पणी गर्दै उहाँले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गर्नुभयो । कक्षा १२ को परीक्षा फलमा गम्भीर त्रुटी देखिएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो । सांसद गुरुङले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक मारमा परेको बताउनु भयो । सरकारले करिव ३० दिनभित्रै नतिजा सार्वजनिक गर्नुलाई उपलब्धिका रूपमा व्याख्या गरे पनि सो निर्णय प्रत्युत्पादक बनेको उहाँको तर्क थियो । उहाँले माईतीघर मण्डलामा न्याय माग्दै आन्दोलनरत विद्यार्थीको मागमा ऐक्यवद्धता समेत व्यक्त गर्नुभयो । सदनमार्फत शिक्षा मन्त्रीको ध्यानाकर्षण गराउँदै सांसद गुरुङले नतिजा प्रकाशनमा भएको लापरवाहीबारे उच्चस्तरीय र निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाही गर्न माग गर्नुभयो । उहाँले हाल बनेको छानबिन समिति केवल औपचारिकतामा मात्र सिमित हुन नहुनेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘छिटो नतिजा सार्वजनिक गरेर स्मार्ट हुनु स्वागतयोग्य छ, तर नतिजाको शुद्धतामा नै असर गर्ने गरी प्रक्रियामा तोडमरोड गरिनु निन्दनीय छ । रिटोटलिङका नाममा विद्यार्थी लुट्ने काम बन्द गरियोस् र निःशुल्क पुनर्मूल्याङ्कन हुने व्यवस्था मिलाइयोस् । सभामुख महोदय, सरकार स्मार्ट बनोस्, त्यसमा हाम्रो सदैव शुभेच्छा छ, शुभकामना छ र साथ पनि छ । तर पटकपटक हरेक विषयमा प्रश्नै–प्रश्नले घेरीने गरेर सरकार ओभर स्मार्ट बन्न नलागोस् ।’
सांसद गुरुङले विद्यार्थीले पुनःयोग (रिटोटलिङ) का लागि तिर्नुपर्ने चर्को र अव्यवहारिक शुल्क तत्काल खारेज गर्नुपर्ने माग राख्नुभयो । विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने र परीक्षा राम्रो दिएका विद्यार्थीहरू समेत अहिलेको नतिजाबाट असन्तुष्ट हुनुले परीक्षा प्रणाली र कोडिङ–डिकोडिङ प्रक्रियामा गम्भीर त्रुटी भएको सङ्केत गर्ने उहाँको दाबी छ ।




