दूरसञ्चारलाई गुणस्तरीय बनाउन नियमनकारी निकायले ध्यान नदिएको सांसदहरुको गुनासो | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

दूरसञ्चारलाई गुणस्तरीय बनाउन नियमनकारी निकायले ध्यान नदिएको सांसदहरुको गुनासो

काठमाडौं, २५ असोज ||
सांसदहरुले दूरसञ्चारलाई गुणस्तरीय बनाउनेतिर नियमनकारी निकायले ध्यान नदिएको गुनासो गरेका छन् । बिहीवार सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले यस्ते बताएका हुन् । उनीहरुले सरकारी संस्थानले पनि कसैको नियन्त्रणमा नभए हुन्थ्यो भन्नेकुराले थप आशंका उब्जिएको बताए । समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले नेपाल दूरसञ्चार संस्थानले आफूमाथि नियमन हुनु हुँदैन भन्नेकुराको जवाफ माग गर्नुभयो । उहाँले निजी क्षेत्रले कसैको नियन्त्रण हुनु हुँदैन भन्नेकुरा राख्नु जायज भएपनि सरकारी संस्थानले भन्दा के असुविधा हुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले स्मार्ट टेलिफोनले तिर्नुपर्ने ऋण वक्यौता माफी दिएर अर्कालाई निरन्तरता दिने प्रयास भइरहेको भन्दै बिरोध गर्नुभयो । उहाँले कानून परिवर्तन गरेर स्मार्ट टेलिकमको निरन्तरता दिनेकुरा सह्य नहुने बताउनु भयो । उहाँले नेपालको भ्रष्टाचारको सम्झौता सिंगापुर र दुबई र हङकङमा हुने गरेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले भनेको भन्दै दूरसञ्चारबारे पनि गहन अध्ययन हुन जरुरी रहेको बताउनु भयो ।

समितिको बैठकमा नेकपा एमालेकास सांसद गोकुलप्रसाद बास्कोटाले फोरजी परियोजना शुरु हुँदा नै सम्बन्धित कम्पनीसित १८ बुँदे निर्देशन मन्त्रालयले दिएको भन्दै ६३ सय जति स्मल सेलहरु राख्नुपर्ने भएपनि अहिलसम्म ४२ सय पनि नराखिएको भन्दै बिरोध गर्नुभयो । उहाँले समयमै काम गर्न नसक्ने सम्बन्धित कम्पनीहरुलाई कारबाही हुन्छ की हुँदैन ? भन्दै प्रश्न गर्नुभयो । उहाँले फोरजी चलाउने भन्ने संस्थाले नेपाली उपभोक्तालाई ठगेको भन्दै सम्झौताकारी संस्था कडा भएर कारबाही गर्नुपर्ने बताउनु भयो ।

समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले दूरसञ्चारलाई कसरी गुणस्तरीय बनाउने भन्नेतिर नियमन निकायले ध्यान नदिएको बताउनु भयो । उहाँले टेरामक्समा नियमनकारी संस्था लागे झैँ दूरसञ्चारलाई कसरी गुणस्तरीय बनाउने कुरामा पनि ध्यानाकर्षण हुन जरुरी रहेको बताउनु भयो । सांसद शर्माले टेरामक्समा मात्रै नियमन निकायको चासो किन बढी छ ? भन्दै प्रश्न गर्नुभयो ।

 

 

 

Leave a Reply