श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निलम्वन गर्ने विश्व फुटबल महासंघ (फिफा) को निर्णय फिर्ता गराउनका लागि तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्नुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले नेपाली राष्ट्रिय टोली तथा क्लवका खेलाडीहरुको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै सर्त पूर गरी एन्फामाथिको फुकुवा यथाशिघ्र गराउन कूटनीतिक, कानूनी र प्रशासन पहल तत्काल अगाडि बढाउनुपर्ने बताउनु भयो । सांसद राईले खेल क्षेत्रमा हस्तक्षेप नहुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न अग्रसर हुनुपर्ने सांसद राईको भनाई थियो ।
उहाँले भन्नुभयो,‘युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले तेस्रो पक्षको हस्तक्षेप सम्बन्धि विषय यथाशिघ्र समाधान गरियोस । फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानून अनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा अन्तरिक व्यवस्थापन स्वतन्त्र रुपमा संचालन गर्नसक्ने वातावरण सुनिश्चित गरियोस । साथै खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानूनी अस्पष्टता तत्काल हटाईयोस् । खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियम राख्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत समस्या निम्त्याउने राजनीतिक, प्रशासनिक हस्तक्षेप पूर्ण रुपमा अन्त्य गरियोस् । राष्ट्रिय टोली क्लवका खेलाडीहरुको भविष्य जोगाउन तथा फिफाले तोकेका सबै शर्त पूर गरी एन्फामाथिको फुकुवा यथाशिघ्र गराउन सरकारबाट आवश्यक कूटनीतिक, कानूनी र प्रशासन पहल तत्काल अगाडि बढाईयोस् ।’
सांसद राईले विद्यमान खेल सम्बन्धि ऐन र फिफाको नियमबीच रहेको अस्पष्टता हटाउने गरी कानूनी व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो ।




