नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता : फितलो व्यवस्थापनबीच प्रतिष्पर्धा गर्दै खेलाडी   | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता : फितलो व्यवस्थापनबीच प्रतिष्पर्धा गर्दै खेलाडी  

खोटाङ। खोटाङका खेलाडी फितलो व्यवस्थापनकाबीचमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागिता जनाउँदैछन् । बजेट व्यवस्थापन अभावमा खेलाडीविना तयारी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी भइरहेका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खोटाङबाट १४ विधाका खेलाडीले प्रदेश स्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । तर, अधिकांश खेलाडी बन्द प्रशिक्षणमा बस्न नपाउदै प्रतिष्पर्धा गर्न प्रतियोगितास्थल पुगेका छन् । जिल्ला स्तरीय छनौट खेलका लागि जिल्ला खेलकुद विकास समितिलाई दुई लाख १५ हजार प्राप्त भएको थियो । त्यसमध्ये ५९ हजार सितोरियो खेलाडीलाई प्रदान गरिएको, अन्य रकम फुटबल र भलिबलको क्लोज क्याम्प सञ्चालन गर्न तथा खेल सामग्री खरिदमा खर्च गरेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।

छनौटमा परेका सितोरियो करातेका खेलाडीका लागि नेपाल सितोरियो कराते संघमार्फत दिक्तेलमा १ साउनदेखि २३ भदौसम्म बन्द प्रशिक्षणको आयोजना गरिए । यस्तै, महिला फुटबलका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका वडाध्यक्ष दिनेश राईको व्यक्तिगत व्यवस्थापनमा बुईपाकै खेलमैदानमा हप्ता दिन बन्द प्रशिक्षणको आयोजना गरियो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दिक्तेलमा पुरुष भलिबललगायतका खेलको बन्द प्रशिक्षण सञ्चालन गरिएको प्रमुख केसीले बताए । तर, अन्य विद्याका खेलाडीले प्रशिक्षण, खेलमैदान, प्रशिक्षक र आवश्यक खेल सामग्री नपाएको गुनासो गरेका छन् । जिल्ला खेलकुद विकास समितिबाट आवश्यक सहयोग नपाउँदा आफ्नै आवास व्यवस्थापनमा ‘सेल्फ ट्रेनिङ’ गर्नुपरेको महिला भलिबलकी क्याप्टेन विनिता राईले गुनासो गरिन् । ‘हामीलाई भलिबल र नेट उपलव्ध भयो । हामी आफैले पनि विभिन्न वडाबाट भलिबल जुटायौं,’ राईले भनिन्, ‘८ भदौदेखि सेल्फ ट्रेनिङमा बस्यौं तर २५ भदौमा मात्र एक जना प्रशिक्षक पायौं । नयाँ बहिनीहरूलाई राम्ररी रुल नै थाहा छैन ।’  बन्द प्रशिक्षण, खेल मैदान, पोशाक र खेल सामग्री जुटाउन जिल्ला खेलकुद विकास समितिले पहल नगरेको खेलाडीको गुनासो छ । खेलकुद विकास समितिले चाहँदा स्थानीय तह वा दातासँग समन्वय गरेर आर्थिकदेखि खेलकुद सामग्री जुटाउन सक्ने खेलाडीहरूको तर्क छ ।जिल्लाका हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिकालगायत पालिकाले प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई औपचारिक कार्यक्रम गर्दै बिदाई गरेका छन् । तर, अन्य स्थानीय तहले सहयोग त के खेलाडीलाई बिदाई गर्ने र शुभेच्छा राख्न समेत कञ्जुस्याइँ गरेका छन् । फितलो व्यवस्थापनले अधिकांश खेलाडीको मनोवल गिराउँदा अपेक्षित नतिजा प्राप्त नहुने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्यडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडीले प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने खेलकुद विकास समितिले जनाएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा २८ असोजदेखि ३ कात्तिकसम्म सञ्चालन हुँदै छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);