काठमाडौं, ७ फागुन । नेपालको न्यायिक निकायहरु कमजोर बन्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ ले सोमबार सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ मा नेपालका न्यायिक निकायहरु कमजोर बन्दै गएको निष्कर्ष निकालिएको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले न्यायिक निकाय कमजोर बन्दै गएको निष्कर्ष प्रतिवेदनले देखाएको जानकारी दिए । उनले निर्वाचन आयोगजस्तो संवैधानिक निकायसमेत निर्वाचनको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्ने दायित्वबाट च्यूत भएको दृष्टान्त पनि पेश गरे ।
अध्यक्ष प्याकुरेलले अदालत, प्रहरी प्रशासनकै कमजोरीका कारण मुलुकमा मानव अधिकार हनन्को घटनामा कमी आउन नसकेको पनि स्पष्ट पारे ।
प्रतिवेदनमा सन् २०१७ मा राज्यपक्षबाट ११, गैरराज्य पक्षबाट २ सय १४ जना र अज्ञात पक्षबाट ३० जना मारिएको पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् २०१८ राजनीतिक स्थिरताको वर्ष हुने अपेक्षा पनि गरिएको छ ।




