इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने राष्ट्रपति ट्रम्पको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने राष्ट्रपति ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि संयुक्त राज्य अमेरिकाले पुनः सैन्य आक्रमण गर्नसक्ने चेतावनी दिनुभएको छ । ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग बोल्दै राष्ट्रपति ट्रम्पले आफू इरानमाथि आक्रमण गर्ने निर्णयको निकै नजिक पुगेर पनि तत्कालका लागि पछि हटेको खुलासा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पकाअनुसार इरानी नेतृत्व अहिले अमेरिकासँग सम्झौताका लागि ‘अनुनय–विनय’ गरिरहेको छ । यद्यपि यदि कुनै ठोस सहमति हुन नसकेमा आगामी केही दिनभित्रै नयाँ सैन्य कारबाही हुन सक्ने उनले बताउनु भयो । आफ्नो निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै ट्रम्पले आफू आक्रमणको निर्णय लिनुभन्दा केही घण्टा अगाडि मात्र रोकिएको बताउनु भयो ।  पाकिस्तानको मध्यस्थतामा भइरहेको वार्तामा केही प्रगति भएको भन्दै खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूले केही समय कुर्न आग्रह गरेपछि आफूले वार्ताका लागि थप दुई–तीन दिनको समय दिएको उनले जानकारी दिनुभयो । यसअघि सोमबार ह्वाइट हाउसकी उप–प्रेस सचिव अन्ना केलीले पनि इरानले आफ्नो आणविक महत्वाकांक्षा पूर्ण रूपमा त्याग्नुपर्ने बताउनु भयो । यसैबीच, इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गरेको छ । इरानी समाचार एजेन्सी ‘इसना’ काअनुसार इरानी सेनाका प्रवक्ता मोहम्मद अक्रमिनियाले अमेरिकाले पुनः आक्रमण गरेमा आफूहरूले नयाँ मोर्चा खोल्ने चेतावनी दिनुभयो ।

Leave a Reply