मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ ।नेपाली सेनाको हेलिकोप्टरबाट मुक्तिनाथ पुग्नु भएकी प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गर्नुभएको हो ।
मन्दिर दर्शनका लागि जाने क्रममा उहाँलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरूसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं पर्यटकसँग भलाकुसारीसमेत गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तर्क्रियामा उहाँले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिनुभयो ।





