काठमाडाैं । यो साता सेयर बजार १.०१ प्रतिशत अर्थात २७ अंकले घटेर २६५५ बाट २६२८ अंकमा झरेको छ । बजारमा अधिकांश दिन सामान्य उतारचढाव हुँदा कारोबार रकम उल्लेख्य रह्यो । विशेष गरी सोमबार र बिहीबार कारोबार रकम उच्च भयो ।
हाइड्रोपावर कम्पनीहरूले नाफा कमाएका छन् भने बैंकिङ र वित्तीय क्षेत्र सुस्ताए । गत साता ०.५६ प्रतिशत बढेको सेयर बजार यो साता १.०१ प्रतिशत (२७ अंक) घटेको हो । यो साता पाँचै दिन कारोबार हुँदा नेप्से आइतबार ०.४७ र सोमबार २.८० बढ्यो ।
त्यसपछिका दिन लगातार बजार घट्यो । मंगलबार ३.९०, बुधबार १.०७ र बिहीबार २४.७६ अंक घट्यो । यो साता कारोबार रकम उल्लेख्य रहेको छ ।
आइतबार ११ अर्ब ४४ करोड, सोमबार गत फागुन १९ यताकै उच्च १३ अर्ब १८ करोडको कारोबार भयो । मंगलबार ७ अर्ब ६५ करोडमा झरेको कारोबार बुधबार ९ अर्ब ८ करोड र बिहीबार ११ अर्ब २३ करोडको भयो ।
गत साता सबैभन्दा धेरै ५.५३ प्रतिशत बढेको हाइड्रोपावरमा यो साता नाफा बुक भएको छ । जसले गर्दा यो समूह ०.४१ प्रतिशत घट्यो । तर यो साता मूल्य धेरै बढेका १० कम्पनीमा सबै हाइड्रोपावर कम्पनी नै रहे । समग्र सेक्टर घटे पनि केही कम्पनीमा आकर्षण कायमै रह्यो । यो क्षेत्रको वित्तीय स्थिति अरुको तुलनामा मजबुत हुँदै गएको छ ।
बैंक, फाइनान्स, बीमा क्षेत्र भने केही सातादेखि सुस्ताएका छन् । शक्तिशाली सेक्टर बैंकिङ नै सुस्ताएपछि समग्र नेप्से परिसूचकले गति लिन सकेको छैन । लगातार तेस्रो साता पनि यो क्षेत्र सुस्ताएको हो । रकमका आधारमा यो साता सबै भन्दा धेरै सानिमा माइ हाइड्रोपावरको शेयर ३ अर्ब ७३ करोडको कारोबार भएको छ ।
त्यसैगरी, ङादी ग्रुप, बुटवल पावर, राधि विद्युत्, सिंगटी हाइड्रो इनर्जी, युनिभर्सल पावर, चिलिमे हाइड्रोपावर, सिनर्जी पावर, सोल्टी होटल तथा युनियन हाइड्रोपावर अगाडि रहे । कारोबार संख्याका आधारमा भने पिपुल्स पावर, पियोर इनर्जी, ङादी ग्रुप, सिंगटी हाइड्रो इनर्जी, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, युनियन हाइड्रोपावर, अरुण काबेली पावर, सिनर्जी पावर र युनिभर्सल पावर अगाडि रहे ।




