देशभित्रको प्राकृतिक स्रोत र साधनको समुचित उपयोग गरेर आर्थिक उन्नति गरौं | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

देशभित्रको प्राकृतिक स्रोत र साधनको समुचित उपयोग गरेर आर्थिक उन्नति गरौं

जेठ २९ बिहिबार ।
काम नगरी बस्दा व्यक्ति, परिवार,समाज र राष्ट्र गरिब हुने विषयमा कसैको विमती हुन्न । काम फिटिक्क नगर्ने तर खान मिठो चाहिने घरपरिवारका मानिसलाई भएको सम्पत्ति सकेर रुखमुनिको बास बस्नुपर्ने दिन आउन समय लाग्दैन । देशमा अहिले उन्नति र प्रगतिको नारा मात्र घन्काइएको छ ।

त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले फिटिक्कै काम गरेको देखिदैन । काम नगरी न व्यक्ति, परिवार, समाज र राष्ट्र कोही धनी हुदैन । धन आर्जनका लागि ऐनकानुन र नीतिका साथै समयअनुसार सवैले काम गर्नुपर्छ । राष्ट्र धनी बनाउन ठीक त्यसैगरी ऐनकानुन र नीति बनाएर योजनाबद्ध निष्पक्ष काम गर्नुपर्छ ।

देश चलाउन सरकार बनाउने राजनीतिक दलका नेताको जीवनशैली पारदर्शी र सफा हुनुपर्छ । नेताले आफ्ना लागि नभइ, राष्ट्रका लागि काम गर्नसक्नुपर्छ । समाज सेवा र राजनीति गर्ने कसैले व्यक्तिगत स्वार्थमा लागेर देशको सम्पत्ति हानी नोक्सानी गरेमा, निजी धन आर्जन गरेमा त्यस्तो व्यक्तिलाई उसको जीवनभरि कुनै पदमा फेरि दोहोरिन दिनुहुदैन । राष्ट्रसेवक कर्मचारी, शिक्षक, प्राध्यापक, सेना, प्रहरीलगायत सवैप्रति राष्ट्रले भरोषा गर्ने वातावरण बनाउनुपर्छ ।

विधि र कानुनको पालनामा सामान्य नागरिकदेखि देशको प्रधानमन्त्रीसम्मले छुट पाउनु हुन्न । अहिले देशका राजनीतिक दलका नेता र सरकारप्रति नागरिकमा विश्वासको संकट छ । यो निवारण हुनुपर्छ । सरकारमा बस्ने र राजनीतिक दलका नेताले नागरिकको विश्वास जितेर काम गर्ने वातावरण निर्माण गर्नैपछ ।

हामीले विदेशी सहयोगको आश गर्न छाडेर हामीसँग भएको प्राकृतिक स्रोत र साधनको समुचित उपयोग गर्नसक्नुपर्छ । प्राकृतिक स्रोत र साधन खनिजको समुचित उपयोगका लागि सवैभन्दा पहिले संघीय सरकारले संसदबाट ऐनकानुन बनाउनुपर्छ । हामीले बनाउने ऐनकानुनका लागि विज्ञ समूहको राय र परामर्श लिनुपर्छ । बजेट भाषणमा पढेर मात्र हुन्न ।

सत्ता पक्ष र विपक्ष दुबैको सहमतिमा मौजुदा वन ऐन संशोधन गर्ने वा नयाँ बनाउने । त्यस ऐनमा हरेक वर्ष नेपालबाट बगेर जाने गिटीबालुवा, ढुंगा र माटो बेचेर हामीले उन्नति गर्ने विषय समेट्नुपर्छ । जंगलमा सुकेका ढलेका रुख संकलन गर्ने बुढा पूराना रुख काट्ने र काटेको स्थानमा नयाँ रुख लगाउने कानुन बनाउने। ढलेका र काटेका रुखका काठ बेचेर देशमा राम्रो आम्दानी जुटाउन सकिन्छ । गिटीबालुवा, ढुंगा र माटो बेचेर विश्वका धेरै देश धनी बनेका छन् ।

हामीले पनि वनजंगल र रुखविरुवालाई हानी नपु¥याइ निश्चित मापदण्ड बनाएर जंगलभित्रको खोलानालाबाट गिटीबालुवा, माटो र ढुंगा निकालेर विदेशलाई बेच्नुपर्छ । यसका लागि सरकारले राष्ट्रिय सहमति गरेर काम गर्नुपर्छ र राष्ट्रले उन्नतिको बाटो समाउछ ।

वनजंगल र खोलानालाबाट गिटीबालुवा, माटो र ढुंगा निकाल्दा स्थानीय समुदायलाई हानी नोक्सानी नपुग्नेगरी दीर्घकालीन सोच बनाउनुपर्छ । दलीय स्वार्थभन्दा माथि उठेर भएको प्राकृतिक स्रोत र खनिजको समुचित उपयोग गर्ने हो भने हामी सवै क्षेत्रमा आत्मनिर्भर बन्नसक्छौ, त्यसका लागि देशमा इमान्दार प्रयाशको खाँचो छ ।

 

Leave a Reply

ताजा समाचार