२०८१,१०,२६
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन्। शनिबार पार्टीको काठमाडौंमा प्रथम उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै त्यसको विरोध पनि गरे। उनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री पद चाहिएकाले दुई कम्युनिष्ट पार्टीहरु मिलेर बनाएको सरकार ढालेर कांग्रेससँग मिलेर सरकार बनाएको बताए।
उनले नेपालमा दुईवटा ठूला पार्टीको मात्रै उपस्थिति हुनुपर्ने कुरामा सरकार केन्द्रित भएको र त्यसको प्रतिरोध गर्न आफूहरु तयार रहेको बताए। संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए। अध्यक्ष नेपालले एमालेसँग एकता गर्ने कुनै सम्भावना नरहेको बताए। माओवादीसँग पनि धेरै कुरामा मतभिन्नता रहेकोले मिल्ने सम्भावना नरहेको जिकिर गरे। नेता वामदेव गौतम र डां भीम रावललाई स्वागत गर्न आफूहरु तयार रहेको बताएका छन।