काठमाडौं,२४ पुस । कोरियाको पानी जहाज क्षेत्रमा काम गर्न जान यही वर्ष भाषा परीक्षा दिएर फेल भएका युवाहरुले पनि अब हुने उत्पादनमुलुक क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन् । बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज क्षेत्रको भाषा परीक्षामा फेल भएकाहरुलाई पनि अब हुने उत्पादनमुलुक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो ।
अब तीन चरणमा हुने यो परीक्षा माघको ६ गतेबाट सुरु हुनेछ । रोजगार अनुमति प्रणाली इपीएसको परीक्षासम्बन्धी नियममा अदालतको आदेशपछि निम्तिएको विवाद अब टुंगिएको छ । दुबैपक्षबीच बसेका बैठकले भाषा परीक्षासम्बन्धी देखिएको जटिलता टुंगो लगाएको बैदेशिक रोजगार बिभागले बताएको छ । परीक्षामा सहभागी हुन यसवर्ष एक लाख ६४ हजार जनाको आवेदन परेको छ । पहिलो चरणमा ४७ हजारको ,दोश्रो चरणमा ८० हजार र बाँकीको तेश्रो चरणमा परीक्षा हुनेछ । कोरियाले परीक्षाको लागि चाहिने ट्याप आएपछि परिक्षार्थीको संख्या बढाउँदै लैजानेछ ।
एकदिनमा एकहजार जनाको परिक्षा हुने छ । पहिलो चरणको परीक्षा कम्तिमा ४७ दिन संचालन हुने छ । २ जना युवाको मृत्यु नै हुने गरी भएको विरोध प्रदर्शन र अदालतको आदेश समेतलाई ध्यानमा राख्दै सरकारले इपीएसको भाषासम्बन्धी व्यवस्थामा परिवर्तन गर्न लिएको पहलमा कोरियाको मानव संशाधन बिभाग एचआरडी लचक भएको हो ।
त्यसक्रममा श्रम सचिव र कोरियाली राजदूतको टोलीबीच विवाद प्राविधिक समितिको बैठकबाट टुंग्याउने सहमति भएको थियो । त्यही अनुसार बिभाग र एचआरडीको बैठकले सहमति जुटाएका हुन् ।




