पटक–पटक जोगिएका सुनिल शर्मा किन पक्राउ परे ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

पटक–पटक जोगिएका सुनिल शर्मा किन पक्राउ परे !

काठमाडौं, २६ साउन । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बिहीबार आफ्नै निवासबाट पक्राउ परे । प्रविणता प्रमाणपत्र तह (आईएस्सी)को शैक्षिक प्रमाणपत्र नै नक्कली भएको अभियोगमा उनी पक्राउ परेका हुन् ।

प्रहरीको अनुसन्धान ब्युरो (सिआईबी)ले शर्मालाई गोल्फुटारबाट पक्राउ गरेपछि सोही केसमा अन्य ४ जना डाक्टरहरुलाई नियन्त्रणमा लिएको हो । शर्मा काठमाडौं मेडिकल कलेज (सिनामंगल) र नोबेल मेडिकल कलेज (विराटनगर)का सञ्चालक हुन् । उनी मोरङ–३ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हुन् ।

एमबीबीएस अध्ययनका लागि शर्माले भारतको बिहारस्थित फारबेसगन्जको बिडीबीकेएस कलेजबाट आईएस्सी उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका थिए । मेडिकल काउन्सिल,सिआईबी र राष्ट्रिय परीक्षा बोर्डसहितको संयुक्त टोलीले २०७२ सालमा छानबिन गरेको थियो । सो छानबिनमा शर्माको उक्त प्रमाणपत्र नक्कली भेटिएको प्रहरीको दाबी छ ।

शर्माले प्रमाणपत्रमा १९९४ देखि १९९६ सम्म आईएस्सी अध्ययन गरी ७ सय अंक प्राप्त गरी प्रथम श्रेणीमा उत्तीर्ण भएको देखिन्छ । २ वर्ष अघि राष्ट्रिय परीक्षा बोर्डले शर्माको सर्टिफिकेट प्रमाणीकरण गर्न बिहार स्कुल एग्जामिनेसनमा टोली पठाउँदा उनको प्रमाणपत्रको रेकर्डमा भेटिएन । उनले एमबीबीएस भने चीनमा अध्ययन गरेका हुन् ।

सीआईबी प्रमुखमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको पालामा २०७२ माघदेखि २०७३ भदौ २६ गतेसम्म अपरेसन क्वाक चलाएर नक्कली सर्टिफिकेटका आधारमा एमबीबीएस अध्ययन गरेका ५९ डाक्टरलाई नेपाल मेडिकल काउन्सिलको सहयोगमा पक्राउ गर्दा शर्मा जापान भागेको बताइएको छ । उनी त्यतिबेला प्रहरीको खोजीमा थिए । आफु अनुकुलका प्रहरी फेरिएपछि मात्रै शर्मा नेपाल फर्किएका थिए ।

फौजदारी अभियोगमा मुछिएका सांसदको संख्या शर्मासँगै चार पुगेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सांसद टोपबहादुर रायमाझी, सुरक्षाकर्मीको हत्या अभियोगमा एमालेकै सांसद लक्ष्मी महतो कोइरी, भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद टेकबहादुर गुरुङ यसअघि नै निलम्बनमा परिसकेका छन्  ।

सांसदले शर्माले सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका थिए । सीआईबीले शर्मालाई पक्राउ गरी सीआईबीको कार्यालय लैनचौर पुर्‍याएको छ । शर्मा कांग्रेस नेता डा.शेखर कोइरालाका निकट नेता मानिन्छन् ।

सीआईबीले विशेष अपरेसनका क्रममा रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरीलाई पनि पक्राउ गरेको छ ।  काउन्सिलको परीक्षामा ५ पटकभन्दा बढी फेल हुने चिकित्सकमाथि छानबिन गर्दा धेरैजसोको प्रमाणपत्र नक्कली भेटिएको थियो ।

Leave a Reply