नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले सोमबार विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका संचालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका संचालिका ४३ वर्षीया सुमित्रा कोईराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका संचालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन् ।

काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीमा संचालित बिभिन्न फोटो स्टुडियोहरुले एसएलसी, प्लस टु उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरूले खाडी मुलुकमा बैदेशिक रोजगारीमा जाने ब्यक्तिहरुबाट ५ सय देखि १ हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीको टोलिले उक्त स्टुडियोहरुबाट ४ थान कम्प्युटर, ४ थान मोनिटर, २ थान पेन ड्राइभ, ४ थान कलर प्रिन्टर र ६ थान विभिन्न नक्कली सर्टिफिकेट समेत बरामद गरेको छ । उनीहरूलाई लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान गर्न प्रहरी बृत्त गौशालामा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);