काठमाडौं, ६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एकै कार्यकालमा दोस्रोपटक विश्वासका मत लिदैंछन् । गत पुस १० गते नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदको विश्वासको मत लिएका थिए । सो समयमा सरकारलाई समर्थन गरेको नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन लिएपछि उनले आज दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी भएको कुनै दलले समर्थन फिर्ता लिएमा पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा १०० को (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ ।
नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी, जसपा,लोसपा, जनमोर्चाको मत पाउनेछन् । नेकपा एमाले, राप्रपा र नेमकिपाले दाहाललाई मत दिने सम्भावना देखिएको छैन् । यसअघि जनमोर्चाले विश्वासको मत दिएको थिएन ।
कांग्रेसका ८९ सांसद मध्ये ८६ मत, माओवादीका ३२, रास्वपाका १९, जसपाका १३, नेकपा एकीकृत समाजवादीका १०, लोसपाका ४, जनमतका ६, नागरिक उन्मुक्तिको ४, स्वतन्त्र सांसद ४, आम जनताको १ र जनमोर्चाको एक सांसदको प्रधानमन्त्री प्रचण्डले मत पाउने निश्चित भएको छ ।
एमालेको ७८, राप्रवाको १४ जनाको भने प्रधानमन्त्रीले विश्वासको मत पाउनेछैनन् । त्यस्तै, एक सांसद रहेका नेमकिपाका प्रेम सुवालले पनि विश्वासको मत दिने सम्भावना देखिएको छैन् ।




