काठमाडौं, ५ चैत्र । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा १४ वर्षपछि आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । नयाँ नेतृत्व चयनका लागि अधिकांश क्याम्पसहरुमा मतदान जारी छ । त्रिवि अन्तर्गतका १३ क्याम्पसहरुमा भने मतदान हुन नसकेको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।
समितिको अनुसार उपत्यका बाहिरका ६ र उपत्यका भित्रका ७ क्याम्पसमा आज निर्वाचन हुन सकेनन् । उपत्यकाका ठुला क्याम्पसहरु त्रिचन्द्र, आरआर, विश्वभाषा, अस्कल, आयुर्वेद किर्तिपुर र पाटन क्याम्पसमा आज निर्वाचन स्थगित भएको हो । त्रिचन्द्रमा आगामी चैत्र ९ गते निर्वाचनको नयाँ मिति तोकिएको छ ।
पोखराको पृथ्वीनारायणलगायतका ठुला क्याम्पसहरुका निर्वाचन स्थगित गरिएको छ । विद्यार्थीहरुका आन्तरिक विवादका कारण ती क्याम्पसहरुमा निर्वाचन स्थगित भएका हुन् ।




