एजेन्सी । आप्रवासीलाई लिएर अमेरिकातर्फ जाँदै गरेको बस पानामामा मिनीबससँग ठोक्किँदा कम्तीमा ३३ जनाको मृत्यु भएकोे छ ।
पानामाका राष्ट्रिय आप्रवासन निर्देशक समिरा गोजाइनले अहिलेसम्र्म ३३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको जानकारी दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । राजधानी पानामा शहरबाट करिब ४०० किलोमिटर पश्चिममा बस दुर्घटना भएको बसमा चालक र सहचालकसहित ६६ जना सवार रहेको बताइएको छ ।
अधिकारीहरूले पीडितहरूको राष्ट्रियता र घाइतेहरूको सङ्ख्याबारे अझै जानकारी दिएका छैनन् । स्थानीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये धेरैलाई एम्बुलेन्समार्फत चिरिकी प्रान्तीय राजधानी डेभिडको एक अस्पतालमा लगिएको छ ।
कोलम्बियासँग सीमा जोडिएको पानामाको पूर्वी क्षेत्र डेरिएनबाट पश्चिमतर्फ कोस्टारिकातर्फ जाँदै गरेको उक्त बसले मध्य अमेरिका र मेक्सिको हुँदै अमेरिकासम्म पुग्नेगरी छुटेको थियो ।
सन् २०२२ मा अमेरिका जाने क्रममा पानामा आउने अनियमित आप्रवासीहरूको सङ्ख्या लगभग दोब्बर भएर दुई लाख ४८ हजार पुगेको छ भने यसमध्ये आधाभन्दा बढी भेनेजुएलाका नागरिक हुने गरेका छन् ।