कुमार श्रेष्ठ \ माउन्टेन टेलिभिजन एचडी।
काठमाडौँ, माघ २८ । जुनारको जिल्ला भनेर पहिचान बनाएको रामेछापमा यतिबेला किसानका बगैँचाहरु पहेँलपुर बनेका छन् । रामेछाप नगरपालिकाको ओख्रेनी, सुकाजोर, रामपुर, हिमगंगा लगायतका क्षेत्रका किसानको बगैँचा जुनार र सुन्तलाले पहेँलपुर बनेपछि ताजा जुनार–सुन्तला किन्न र यो क्षेत्रमा घुमेर आनन्द लिने पर्यटकहरुको भिड लागेको छ । आफ्नो बगैँचामा फलेका जुनार किन्न ग्राहकहरु थलोमै आउँन थालेपछि किसानले सोचे अनुसारको मुल्य पाइरहेका छन्।
त्यस क्षेत्रमा घुम्न पुगेका आन्तरिक पर्यटकहरु पनि जुनार गुणस्तरीय भएकाले थप बजार व्यवस्थापन गरेर देशका ठुला शहरहरुमा पु¥याउन किसान र सरोकारवाला निकायहरु लाग्नुपर्ने सुझाव दिन्छन् । अघिल्ला वर्षहरुमा जुनारमा रोग किराको संक्रमण देखिएको भएपनि यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई रामेछापको जुनार जोन कार्यक्रममार्फत रोग नियन्त्रमा सहयोग पुगेको बताइएको छ । ९० प्रतिशित भन्दा बढी रोग नियन्त्रण हुँदा उत्पादनमा बृद्धि भएको किसानले बताएका छन् ।
जिल्लामा नर्सरी उत्पादनदेखि उत्पादित जुनारको बजरीकरणसम्मको योजना अगाडि सारेर काम भइरहेको छ । यसै वर्षदेखि जुनारको ब्राण्डिङ, लेवलिङ र प्याकेजिङको काम गरेर गुणस्तरीय जुनार बजार पठाउने गरी तयारी भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन इकाई रामेछापले जनाएको छ ।
यो वर्ष जिल्लामा करिव १५ हजार मेट्रिक टनभन्दा बढी जुनार उत्पादन हुने प्रक्षेपण गरिएको छ । गुणस्तरीय जुनार उत्पादन गर्नलाई तीनै तहका सरकारले थप चासो देखाए समृद्ध रामेछाप बनाउन सहयोग पुग्ने देखिन्छ ।