वीरगन्ज, २८ कार्तिक । प्रदेश नम्बर २ को सबै भन्दा ठूलो सरकारी अस्पताल हो वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल। जहाँ पर्सा, बारा, रौतहट, सर्लाही र महोत्तरी सम्मका बिरामीहरु उपचारका लागि आउछन्। तर यही अस्पतालमा दुई दिनमा दुई जना नवजात शिशु साटिएको खबरले अस्पतालमा खैलाबैला मच्चिएको छ।
नारायणी उपक्षेत्रीय अस्पतालमा गत शनिवार र आइतवार गरि दुई दिनमा दुई जना नवजातशिशुसाटिएको आरोप लागेपछि अस्पतालका स्वास्थ्यकर्मीहरु मानसीक तनावमा छन् भने प्रसूति गराउन अस्पतालमा पुगेका महिला र उनीहरुका अभिभावक पनि शंसयमा परेका छन्।
सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ११ घर भई हाल वीरगन्जको प्रगतिनगरमा बस्दै आएका राममनोज प्रसाद कुशवाहाकी पत्नी कामिनीदेवी कुशवाहालाई प्रसूतिका लागि गत शनिवार बिहान आठ बजेतिर अस्पतालको प्रसूति वार्डमा भर्ना गरिएको थियो।
भर्ना गरेको करिब डेढ घण्टामै अर्थात बिहान साढे नौ बजे तिर कामीनी देवीले शीशुलाई जन्म दिइन्। प्रस्तुति वार्डमा कार्यरत नर्सहरुले छोरा जन्मिएको खबर सुनाए लगत्तै खुशीले रमाएका राममनोज पसलबाट मिठाइ किनेर ल्याए र आफना आफन्त र नर्सहरुलाई बाँडेर खुवाए।तर मिठाइ बाडेको केहि क्षण बित्न नपाउदै नर्सहरुले जन्मिएकोशिशुछोरा नभइ छोरी भएको जानकारी गराएप्छि राममनोजको सारा खुशी पलभरमै एकाएक गायब भयो।
मेरी पत्नीले छोरालाई जन्म दिएको खबर नर्सहरुले दिए, त्यस बेला मेरी श्रीमति र सासुले पनि छोरा नै जन्मिएको मलाई बताए, खुशीमा मैले होटलबाट मिठाइ ल्यार सबैलाई बाँडे, राममनोजले भने, तर पत्नी र शीशुलाई प्रसूति वार्डबाट निकालेर बेडमा ल्याएपछि नर्सहरुले छोरा नभइ छोरी जन्मिएको बताएपछि मेरो त होसहवास नै उड्यो, बच्चा साटियो भनेर मैले त्यहिबेला होहल्ला गरे तर मेरो कुरा कसैले सुनेनन्।
अस्पतालको प्रसूति वार्डमै शिशु साटिएको भन्दै राम मनोजले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा लिखित उजुरी नै दिएका छन्।उजुरीमा उनले आफनी पत्नि र साटिएको शीशुको डिएनए परिक्षणको पनि माग गरेका छन्।राममनोजले उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले यस बारेमा छानबिन गर्न आइतवार नै नारायणी उपक्षेत्रीय अस्पताललाई पत्र काटेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।




