काठमाडौँ, २१ कार्तिक । बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ। यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ। तर प्रगति शुन्य बराबरमै छ।
सरकारले ०५२ सालमा बाग्मती सफाइ अभियान थालेको थियो। पहिलो चरणमा गोकर्णदेखि पशुपतिसम्मको क्षेत्रलाई सफा बनाउने कार्यक्रम थियो। यो क्षेत्रमा सफामात्र होइन, नुहाउन मिल्ने जल बगाउने सरकारी योजना थियो। योजनाअनुसार बजेट खर्च भए पनि सरकारी लक्ष्य भने योजनाको किताबमा मात्र सीमित भयो।
पछिल्लो अभियानपछि सरकारी कोषबाट बाग्मती सफा बनाउने नाममा पाँच अर्ब रुपैयाँ खर्च भइसकेको छ। निजी क्षेत्र र गैर सरकारी संस्थाले गरेको खर्च यसमा जोडिएको छैन। बागमतीमा हाल हजारभन्दा बढी संघसंस्था आवद्ध भएर काम गर्ने गरेका छन् भने अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति समक्ष प्रस्ताव पेश गर्ने कम्पनी मुस्किलले ५०/६० वटामात्रै रहेको उल्लेख छ। – अन्नपूर्ण पोस्ट दैनिकबाट




