काठमाडौं । मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध आलमले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो ।
उनको रिट न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी पहिलो नम्बरमा परेको छ ।
न्यायाधीश हुनपूर्व राउत र रेग्मी कांग्रेसको महाधिवेशन निर्वाचन समितिमा रहेका थिए । यसैकारण आलमलाई आजको सुनुवाइमा सहजमा हुने मानिएको छ ।
आलमको रिट यसअघि पनि पटक पटक पेशीमा परेपनि सुनुवाइ भएको थिएन ।
२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवीत मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ ।
मृतकका परिवारले आलमविरुद्ध जाहेरी दिएपछि उनीविरुद्धको मुद्धा अघि बढाएर थुनामा राखिएको थियो ।