काठमाडाैं । नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।
सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन अपरान्ह ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो । बैठकले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंग्याउने बताईएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल सहभागी हुनुभएको छ । बाँकी ५ जना मन्त्रीहरुको टुंगो आज लाग्ने माओवादी नेताहरुले प्रतिकृया दिएका छन् ।
माओवादी केन्द्रमा मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएपनि झण्डै दुई दर्जन आकांक्षी देखिएकाले लामो समयसम्म पनि मन्त्रीको नाम टुंगिन सकेको छैन ।
यसअघि आइतबार बसेको माओवादीको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक दश दिन पर सार्दै साउन ३० मा बोलाउने निर्णय गरेको थियो । उक्त मितिसम्ममा देशैभर वडा कमिटि गठन गरिसक्न पार्टी पंक्तीलाई निर्देशन समेत दिईएको छ ।