कोरोना नियन्त्रणका लागि विज्ञहरुले दिए यस्तो सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कोरोना नियन्त्रणका लागि विज्ञहरुले दिए यस्तो सुझाव

काठमाडौं । कोभिड – १९ संक्रमितको उपचारमा अक्सिजन तथा अक्सिजन सिलिण्डरको चरम अभाव भएको भन्दै अक्सिजन तथा अक्सिजन सिलिण्डरको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिईएको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका कारण उत्पन्न संकट समाधानका विषयमा विज्ञ तथा नीजि क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेका थिए । सो छलफलमा बोल्दै विभिन्न क्षेत्रका व्यक्तिहरुले दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढीरहेको र गम्भीर बिरामी पनि बढेको भन्दै अक्सिजन र अक्सिजन सिलिण्डरको बन्दोबस्तमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले कतिपय जिल्लामा कतै अक्सिजन हुने सिलिण्डर नहुने र कतै सिलिण्डर हुने अक्सिजन नहुने समस्या रहेको भन्दै यस्तो समस्या हल गर्न ध्यान दिनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले अक्सिजन फ्याक्ट्रीमा आफ्नो कम्पनीको सिलिण्डर भए भरिदिने र अर्को कम्पनीको भए नभरीकन फिर्ता पठाउने गरिएको भन्दै जुनसुकै कम्पनीको भएपनि भर्ने व्यवस्था गर्नुपर्ने बताए । अक्सिजनको आवश्यकता पूर्ति गर्नका लागि जि टू जि मार्फत् आयात गर्नुपर्नेमा उनले जोड दिए ।

होम आइशोलेसनमा बस्नेहरुका लागि सल्लाह, सुझाव दिनको लागि चिकित्सकहरुको मोवाइल टिम बनाउनुपर्ने उनको भनाई छ । चेम्बरले ३ सय थान अक्सिजन सिलिण्डर मगाएको र तीन÷चार दिन भित्र सरकारी अस्पताललाई दिइने पनि उनले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले स्वास्थ्य संकटकाल लगाउने बारे सोच्नुपर्ने बताए । स्वास्थ्य संकटकाल घोषणा गरे विश्वको ध्यान नेपालतिर आउने र प्राथमिकताको साथ उपचार गर्न सकिने उनको भनाई छ । अमेरिकी सरकारसँग नेपाल सरकारले अनुदान अथवा किनेरै भएपनि ल्याउने गरी भ्याक्सिन माग्नुपर्ने पनि बताए । डाक्टर पढीरहेका अन्तिम वर्षका विद्यार्थीहरुलाई अस्पतालमा काम गर्न लैजानुपर्ने उनको तर्क थियो ।

वरिष्ठ चिकित्सक चक्रराज पाण्डेले बिरामीको अवस्था हेरेर अस्पताल भर्ना गरिनुपर्ने बताए । अनावश्यक भर्ना भएका बिरामीहरुलाई भन्दा अतिआवश्यक अवस्थाका बिरामीहरुलाई अस्पतालमा भर्ना गरेमा बचाउन सकिने उनको भनाई छ ।

गैर आवासिय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतोले तत्कालै २० हजार अक्सिजन सिलिण्डर र ५ सय भेन्टीलेटर सरकारले ल्याउनुपर्ने बताए ।

वरिष्ठ चिकित्सक डा. भगवान कोईरालाले अक्सिजन उत्पादनमा काम गर्ने मानिसहरुलाई भ्याक्सिन तथा जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने सुझाए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनलाई प्रभावकारी बनाउनुपर्ने बताए । घरमा आइशोलेसनमा बस्दा संक्रमण फैलिने खतरा भएकाले आइशोलेसन सेन्टरको संख्या बढाउनुपर्ने उनको भनाई छ । परीक्षणको दायरा बढाउनुपर्ने, आइसीयु र भेन्टीलेटरको जनशक्ति बाहिरी जिल्लामा पनि पठाउनुपर्ने तथा हाईफ्लो अक्सिजन लिनुपर्ने बिरामीको लागि सुविधा सम्पन्न अस्पतालमा लैजाने व्यवस्था समेत गरिनुपर्ने उनको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताए । कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै त्यसो गर्नु नहुनेमा सचेत गराए । मन्त्रालयले कोभिडको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्यका पहिलेका कर्मचारीलाई फर्किन आग्रह गरिएको उनले जानकारी दिए । लिक्विड अक्सिजन तुरुन्त खरिद गर्न सक्ने अवस्था नरहेको पनि उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले शनिबार सबै क्षेत्रका व्यक्तिहरुसँग कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले अक्सिजनको आपूर्ति सहज बनाउने काममा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);