चितवनमा आफ्नै प्लान्ट भएका अस्पतालमा समेत अक्सिजन अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चितवनमा आफ्नै प्लान्ट भएका अस्पतालमा समेत अक्सिजन अभाव

दिलीप शर्मा,
चितवन ।
दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि चितवनमा अक्सिजनको माग ह्वात्तै बढेको छ । आफ्नै प्लान्ट चलाएका अस्पतालहरुले पनि उत्पादनले नधानेर निजी क्षेत्रबाट अक्सिजन ल्याएर संक्रमितको उपचार गराउनु परेको छ ।

यही गतिमा संक्रमितको संख्या बढ्दै जाने हो भने चितवनमा पनि अबको केही दिनमै अक्सिजन अभाव हुन सक्ने संभावना रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आफ्नै प्लान्ट चलाएका छन् ।

जिल्लामा अक्सिजनको माग बढेपछि आफ्नै प्लान्ट चलाएका अस्पतालले समेत निजी क्षेत्रकै भर पर्नुपरेको छ । जस अनुसार बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि यहाँका अस्पतालमा माग अनुसार अक्सिजन नपुगेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट जगन्नाथ तिवारीले बताए ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार , दैनिक एक हजार २ सय सिलिण्डर जिल्लाका अस्पतालमा आवश्यक पर्दछ । यहाँको चार अस्पताल र एउटा निजी उद्योगको गरी ८ सय ८० सिलिण्डर मात्रै उत्पादन हुँदै आएको छ । दैनिक ३ सय २० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए ।

अक्सिजनको हकमा भरतपुर अस्पतालले दैनिक ७५ सिलिण्डर उत्पादन गर्दछ भने २ सय खपत गर्दछ । चितवन मेडिकल कलेजको ४ सय सिलिण्डर खपत रहेको छ भने उत्पादन ७५ सिलिण्डर मात्रै छ । कलेज अफ मेडिकल साइन्सेसलाई आवश्यक पर्ने ३ सय ५० सिलिण्डर आफै उत्पादन गर्दछ । बीस सिलिण्डर अक्सिजन उत्पादन गर्ने वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको खपत दैनिक एक सय सिलिण्डर रहेको छ ।

अरु निजी अस्पतालले दैनिक एक सय सिलिण्डर र अन्य प्रयोगमा ५० सिलिण्डर खपत हुँदै आएको छ । व्यावसायिक रुपमा निजी क्षेत्रबाट चलेको अक्सिजनको प्लान्ट एउटा मात्रै छ । जहाँ दैनिक ३ सय ६० सिलिण्डर मात्रै अक्सिजन उत्पादन हुन्छ ।

यहि अवस्था रहिरहे चितवनमा पनि अक्सिजनको चरम अभावले कोरोना बिरामीले ज्यान गुमाउनु पर्ने त्रास बढेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);