पाल्पाको माथागढी गाउँपालिकामा १५ शैय्याको कोभिड अस्पताल | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

पाल्पाको माथागढी गाउँपालिकामा १५ शैय्याको कोभिड अस्पताल

सुमत गाहा,
पाल्पा ।
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय तहहरूले पनि कोभिड अस्पताल संचालन गरेको छन । पाल्पाको स्थानीय तहहरू मध्ये माथागढी गाँउपालिकाले पनि १५ शैय्याको कोभिड अस्पताल संचालन गरेको छ ।

यस अघि माथागढी गाउँपालिकाले संघीय सरकारको १० लाख रुपैयाँ अनुदानमा ५ शैय्या र गाउँपालिकाको आफ्नै लगानीमा ५ शैय्या गरी १० शैय्याको कोभिड अस्पताल सञ्चालन गर्दै आएको थियो ।

यद्यपी गाँउपालिकामा संक्रमणको दर बढ्दै गएपछि गाँउपालिकाले थप ५ शैय्या गरी १५ शैय्याको कोभिड अस्पताल देवगिरमा संचालन गरी सेवा विस्तार गरेको गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले बताए । उनले अगामी दिनमा कोभिडका बिरामीहरुलाई उपचारमा कुनै कमी नहोस् भन्ने सोचका साथ सेवा विस्तार गरेको जानकारी दिए ।

१५ शैय्याको अस्पतालमा १५ वटै विशेष केयरसहितको बेड रहेको छ । नयाँ भेरियन्ट सहितको कोरोना महामारीले देशमा भयावह अवस्था निम्तिएपछि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाँउपालिकाले जनाएको छ ।

समुदाय स्तरमा नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपाल सरकारको मापदण्ड अनुसार कोरोना संक्रमितको उपचारका लागि आवश्यक सामग्री सहित आफूहरु तयारी अवस्थामा रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख केशव जि.सिले बताए ।

कोभिड अस्पतालमा उपचारका लागि कुनै शुल्क तिर्न नपर्ने व्यवस्था गाउँपालिकाले मिलाएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै जाँदा कोरोना संक्रमितको सहज उपचारका लागि अस्पतालले महत्वपूर्ण भूमिका खेल्ने छ । यसले समुदायमा थप कोरोना संक्रमण फैलिन नदिन समेत महत्वपूर्ण योगदान पुर्याउन अपेक्षा गरिएको छ ।

Leave a Reply