काठमाडौं । चैत २५ पछि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो खोप लगाए पनि संक्रमण भएका र हाल लक्षण देखिएकाहरुलाई काठमाडौं महानगरपालिकाले खोपको दोश्रो डोज नदिने भएको छ ।
जनस्वास्थ्य विभाग र सबै वडा क्लिनीक इन्चार्जहरुसँग महानगरपालिकाले आज बिहान बसेको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । महानगरपालिकाले जेठ २ गतेदेखि ११ गतेसम्म भेरोसेलको दोश्रो डोज दिने अभियान चलाउँदै छ ।
विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार अहिलेको खोप चैत २५ देखि बैशाख १५ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएका र त्यसपछि कोभिडको संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो । संक्रमण भएका र हाल लक्षण देखिएकाहरुका लागि पछि निर्णय गरिने बताइएको छ ।
भेरोसेलको दोस्रो डोज अभियान सञ्चालन गर्न महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ ।
खोप केन्द्रमा कम्तीमा २ जना खोपकर्ता र एक जना खोपकर्ताबराबर ३ जना स्वयमसेवक परिचालन हुनेछन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज लगाएका व्यक्तिले आफू निकट पालिका, वडा र खोप केन्द्रमा गएर खोप लगाउन भनेको छ ।
सूचना अनुसार चैत २५, २६,२७ र २८ गते भेरोसेलको पहिलो डोज लगाएकाले जेठ २ खोप लगाउन सक्नेछन् । त्यसैगरी चैत २९ र ३० गते लगाएकाले जेठ ३ गते, चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेठ ५ गते दोश्रो डोजको खोप लगाउन सक्नेछन् ।
त्यस्तै, बैशाख ५ र ६ गते पहिलो खोप लगाएकाले जेठ ६ गते, बैशाख ७,८, ९ र १० गते खोप लगाएकाले जेठ ७ गते, बैशाख ११ र १२ गते लगाएकाले जेठ ८ गते दोश्रो डोजको खोप लगाउन सक्नेछन् ।
त्यसैगरी, बैशाख १३ गते पहिलो डोज लिगाएकाले जेठ ९ गते, बैशाख १४ गते खोप लिएकाले जेठ १० र बैशाख १५ गते खोप लिएकाले जेठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन् । दोस्रो डोज लगाउन जानेहरुले पहिलो डोज लगाउँदा दिइएको खोप कार्ड साथमा लिई नजिकको खोप केन्द्रमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन सक्नेछन् ।
जेठ २ बाट ९ दिनसम्म चल्ने खोप अभियानमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखेको जनाइएको छ । चीनमा उत्पादित ‘भेरोसेल’ खोप चैत २५ गतेबाट लगाउन सुरु गरिएको थियो ।
चिनियाँ सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । सो खोप चैत १६गते नेपाल ल्याइएको थियो ।




