प्रावि तहको शिक्षामै सीमित चितवन राप्ति नगरका चेपाङ्ग बालबालिका | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

प्रावि तहको शिक्षामै सीमित चितवन राप्ति नगरका चेपाङ्ग बालबालिका

दिलीप शर्मा,
चितवन ।
चितवनको राप्ति नगरपालिका–३ , धमिलिमा सरकारको शैक्षिक लगानी अनुरुप प्रगति हुन सकेको छैन । जसका कारण प्रावि तह अध्यन पश्चात शिक्षालाई निरन्तरता दिने विद्यार्थी अत्यन्त न्यून छ ।

यस धमिलि गाउँमा एक सय ५८ घर धुरी छन् । जहाँ अधिकांस विपन्न चेपाङ्ग समुदायको बाहुल्यता रहेको छ । खोरिया फाडेर खेती गर्ने र ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने चेपाङ्ग समुदायको शैक्षिक स्तर उकास्ने उद्देश्यले विद्यालय पनि खोलिएको छ ।

२०५० सालमा स्थापित यस विद्यालयमा प्राथमिक तहसम्म मात्रै अध्यापन हुने गर्छ । तर विडम्बना यस विद्यालयबाट अध्यन पुरा गरी माध्यमिक तहको अध्यनलाई निरन्तरता गर्ने विद्यार्थी भने नगन्य छन् । जसको कारण यस गाँउमा एस ई ई पास गर्ने जम्मा दुइ जना मात्रै रहेका छन् ।

वर्षाको समयमा यहाँका विद्यार्थीलाई अन्यत्र अध्यनको लागि आउजाउ गर्न मुस्किल छ । जसको कारण निमावि तथा मावि तहसम्मको अध्यनलाई निरन्तरता नदिने क्रम बढेको श्री जनन्योति प्रावि धमिलिका पूर्व विद्यार्थी तथा हाल सोही विद्यालयका शिक्षक कमल प्रजाको अनुभव छ ।

गाउँको विद्यालयमा प्राविसम्म मात्रै पढाइ हुन्छ । गाउँ छोडी अन्यत्र अध्यनको लागि जाँदा भाषा मुख्य समस्याको रुपमा देखा पर्ने पूर्व विद्यार्थी सवल प्रजाको अनुभव छ । बोलेको बुझे पनि मातृभाषा फरक हुनाले असजिलो महसुस हुने उनी बताउँछन् । फरक परिवेश र फरक सामाजिक अवस्थामा घुलमिल हुन नसकेको कारण अध्यनलाई निरन्तरता दिन नसकेको उनले बताए ।

गाउँ छोडेर अन्यत्र जाँदा आउजाउ गर्न टाढा हुनुका साथै वर्षा याममा बाढी तथा पहिरो आउने सम्भावना पनि उत्तिकै रहेको उनको गुनासो छ । आफ्नै समुदायमा मावि सम्मको विद्यालय नहुँदा पढाइ बीचमै रोक्नु परेको जनज्योति प्राविका पूर्व विद्यार्थी कमला चेपाङ्ग बताउँछन् ।
बाबु आमामा पढाउनु पर्छ भन्ने चेतना नभएकोले पनि मावि सम्मको अध्यन पुरा गर्ने न्यून छन् ।

यहिकारण ले अध्यन बीचमै रोकी बालविवाह गर्ने तथा मजदुरी गर्न जाने प्रचलन बढेको छ । अध्यनलाई निरन्तरता नदिने समस्या राप्ति नगरपालिका भरका दलित, आदिवासी तथा जनजाति समुदायमा व्याप्त छ । जुन कुराबाट नगरपालिका पनि जानकार छ ।

यस्तो अवस्थामा सुधारका लागि नगरपालिकाले भनाई अभियान जस्तै विद्यलाय निरन्तरताको विशेष अभियान सञ्चालन गर्न लागिएको राप्ति नगरपालिकाकी प्रमुख प्रभा बरालले बताईन् ।

Leave a Reply